तपाईँ सुन्दै हुनुहुन्छः

खेलाडीहरूको भविष्य सुनिश्चित गर्न कानून ल्याउने तयारी भइरहेको छ : मन्त्री लिम्बु 

पोखरा । युवा तथा खेलकुद मन्त्री डिकबहादुर लिम्बुले सङ्घीयतामा पुराना संरचनामा बस्न नहुने बताउनुभएको छ । 

आजदेखि पोखरा रङ्गशालामा सुरु भएको तेस्रो प्रदेश स्तरीय तथा पहिलो कास्की जिल्ला स्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता २०८० को उद्घाटन मन्त्री लिम्बुले देश सङ्घीयतामा गएको अवस्थामा पुरानै संरचनाले नेपालको खेल गतिविधि नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीयता लागु भएको ५ बर्ष बितिसक्यो अब पनि पुरानै संरचनामा बसेर नेपालको खेलकुदको विकास हुन सक्दैन, यसको परिवर्तन स्वयम आफैले गर्नुपर्छ ।” अहिले पनि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति भएकोले त्यसको संरचनालाई सङ्घीयतामा लैजानुपर्ने उहाँले बताउनुभयो । 

उहाँले नेपाली खेलकुदको विकास गर्न खेलकुदमा लाग्ने खेलाडीहरूको भविष्य सुनिश्चित पार्ने कानून ल्याउने तयारी भइरहेको बताउनुभयो । खेलाडीहरूको वृद्धि विकास र खेलकुदलाई व्यवसायीक बनाउनुपर्ने उहाँको भनाई थियो । 

खेलकुद क्षेत्रमा देखिने विकृति र विसङ्गतिका विरुद्ध एक भई लाग्नुपर्ने समय आएको उल्लेख गर्नुहुँदै मन्त्री लिम्बुले निजी क्षेत्रको लगानी सुनिश्चित गर्दै खेलकुदमा लागेका अभिभावकहरूलाई समेत सम्मानित हुने वातावरण सृजना गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा गण्डकी प्रदेशका सांसदहरु प्रकाश बराल, दोर्ण कुँवर, लिल बहादुर थापा र जित बहादुर शेरचन, राखेपका पूर्व सदस्य खड्ग बहादुर रानाभाट, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मालगायतले खेलकुदको बारेमा चर्चा गर्नुभएको थियो । 

पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा प्रतियोगिता सञ्चालन भएको छ । प्रतियोगितामा ७ जिल्लाका ३ सयभन्दा बढी खेलाडीहरूको सहभागिता भएको संघ प्रदेशका अध्यक्ष गमबहादुर थापाले बताउनुभयो । 

प्रतियोगितामा कास्की, बागलुङ, पर्वत, म्याग्दी, नवलपुर, स्याङजा र तनहुँका महिला तथा पुरुष खेलाडीहरूको सहभागिता भएका छन् । 

प्रतियोगितामा २८ स्वर्ण, २८ रजत र ३२ काश्य पदकका लागि प्रतिस्पर्धा हुने गण्डकी उपाध्यक्ष तथा रेफ्रि अफिसियल संयोजक आकाशचन्द्र घर्तीमगर बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा एकल काता स्पाइरिङ, तथा एकल प्याट्रनमा प्रतिस्पर्धा हुनेछ जसमा स्पाइरिङतर्फ ४५ देखि ८५ केजी तौल सम्म तथा महिलातर्फ ४० देखि ७० केजीसम्म प्रतिस्पर्धा गराइने भएको छ । त्यसैगरी एकल प्यार्टनतर्फ ग्रिन बेल्ट देखि ब्ल्याक बेल्ट तेस्रो डान सम्मका खेलाडीहरू प्रतिस्पर्धामा उत्रिने छन् । 

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासङ्घको संयोजनमा हुने प्रतियोगिता सम्पन्न गर्न करिब १२ लाख ५० हजार खर्च हुने अनुमान रहेको आइटिएफ तेक्वान्दो गण्डकीका कोषाध्यक्ष बिक्की सुनारले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button