सप्तरी प्रिमियर लिग (एसपीएल) टी–२० क्रिकेट प्रतियोगिता भोलिदेखि

सप्तरी । सप्तरी प्रिमियर लिग मेयर कप टी–२० (एसपीएल) क्रिकेट प्रतियोगिता भोलिदेखि सप्तरीको राजविराजमा सुरु हुने भएको छ ।
पाँचौँ संस्करण अन्तर्गत राजविराज नगरपालिकाको सहयोगमा सप्तरी क्रिकेट सङ्घले एसपीएल गर्न लागेको हो ।
पब्लिक माध्यमिक विद्यालय राजविराजको खेलमैदानमा असार ३ गते आइतबारदेखि आयोजना हुन लागेको एसपीएलमा ६ वटा टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
लिगमा बजाज खडक वारियर, रूपनी राईडर्स, बलान बिहुल सुपर किंगस, कञ्चनरूप राईनो, छिन्नमस्ता दर्शन, राजबिराज दि किंग सहित ६ टिमले सहभागिता जनाएको छ ।
सप्तरी क्रिकेट संघका अध्यक्ष आयुष श्रेष्ठका अनुसार प्रतियोगिताका लागि ‘अक्सन’का माध्यमबाट खेलाडी छनोट गरिएको छ । अक्सनका लागि कुल १७२ खेलाडीले आवेदन दिएका थिए । तीमध्ये ८५ जनालाई विभिन्न टिमले खरिद गरेका छन् ।
प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभागी रहने भएकाले अघिल्ला संस्करणहरूभन्दा धेरै रोचक हुने सप्तरी क्रिकेट सङ्घले जनाएको छ ।
विजेता टिमले ३ लाख रुपैयाँ नगद पुरस्कार र मेडल तथा उप–विजेता टिमले १ लाख ५० हजार रुपैयाँ र मेडल प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्