तपाईँ सुन्दै हुनुहुन्छः

‘राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समूहको भूमिका आवश्यक’

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राजनीतिलाई सही दिशा दिन प्राज्ञिक समुदायको सक्रिय भूमिका चाहिने बताउनुभएको छ ।

प्रा डा कुलप्रसाद कोइरालाद्वारा लिखित ‘वेदमा जीवन र जगत’ तथा ‘सिस्नाको आँठो’ को लोकार्पण गर्दै उहाँले राजनीतिलाई सही दिशामा डोहोर्याउन ‘थिंक ट्याङ्क’ का रुपमा रहेका प्राध्यापकहरूले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

नेता कोइरालाले मुलुकमा दण्डहीनता बढिरहेको भन्दै सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “संवैधानिक निकायमाथि पनि राजनीतिक प्रहार भइरहेको छ । संसद्को गरिमा र मर्यादा खस्केको छ । प्रधानमन्त्रीले बोलिरहेका बेला सवाल जवाफ गरेर दोहोरी खेल्ने नेपालको संसद्मा भइरहेको छ, यसले प्रजातन्त्रलाई कमजोर तुल्याउँछ ।”

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले राजनीतिलाई सही ढङ्गले अघि बढाउन प्रबुद्ध समुदायको उपयोगिता हुने गरी स्थायी संयन्त्र बनाउन जरुरी भएको उल्लेख गर्नुभयो । विद्यमान राजनीतिक, वैचारिक दृष्टिकोण र शैली सुधार्न जरुरी भएको भन्दै उहाँले मुलुकको राजनीतिक बेतिथिलाई पुस्तकले चित्रण गरेको उल्लेख गर्नुभयो ।

वेदमा जीवन र जगत नामक पुस्तकमा पूर्वीय दर्शनको सार प्रस्तुत गरिएको छ भने सिस्नाको आँठो पुस्तकमा समकालीन राजनीतिक पाटोलाई व्यङ्ग्यको रुपमा दर्शाइएको छ । कूल ६८ लेख समेटिएको पुस्तकमा विगतको राजनीतिक अवस्था, वर्तमानको विकृतिलाई उल्लेख गरिएको छ । ती दुवै पुस्तक स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button