बागमती प्रदेश सरकारले आज बजेट सार्वजनिक गर्दै

मकवानपुर । बागमती प्रदेश सरकारले आज आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै छ । प्रदेश सरकारले आज दिउसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न लागेको हो ।
अन्तर सरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार आज दिउसो बस्ने बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट प्रस्तुत गर्ने गरी कार्यसूची तय गरिएको छ ।
मन्त्री लामाले आर्थिक वर्ष २०८०–०८१ को राजस्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गर्ने र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयकलाई पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ ।
बजेटको सम्पूर्ण तयारी पुरा भइसकेको र दिउसो मन्त्रिपरिषद् बैठकले निर्णय गरेलगतै बजेट प्रस्तुत हुने जनाइएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कृषि, पर्यटन र रोजगारी सिर्जनामा जोड दिने गरि बजेट ल्याउने जनाएको छ ।
यसअघि बागमती प्रदेश सभाको हिजोको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री लामाले बागमती प्रदेशको आर्थिक सर्वेक्षण २०७९/८० पेश गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्