पुरातत्त्व विभागद्वारा ऐतिहासिक धार्मिक स्थल बर्दगोरिया उत्खनन

नवलपरासी । पुरातत्त्व विभागले नवलपरासी पश्चिमको सुनवल नगरपालिका स्थित वडा न. ११ मा स्थित धार्मिक स्थल बाबा बर्दगोरिया मन्दिर परिसरमा उत्खनन गरिरहेको छ । बिगत १० दिनदेखि पुरातत्त्व विभागको टोलीद्वारा उत्खनन गरिरहेको हो ।
मन्दिर परिसरमा उत्खनन गर्दा प्राचीन कालिन शिखर शैलीको अकारमा बनेका देवीको मूर्ति र इँटा अकारको भग्नावशेष भेटिएको छ । पुरातत्त्व विभागका उपसचिव भाष्कार ज्ञवाली र जगत बहादुर कटुवाल सहितको टोलीले सो क्षेत्रमा गरेको उत्खननका क्रममा पुराना वस्तुको भग्नावशेष फेला परेको हो । टोलीले दस दिनको उत्खननको क्रममा प्राचीन भग्नावशेष तथा पत्थर कुँदेर बनाइएका विभिन्न देवदेवीका आकारका मूर्तिका टुक्रा, इँटाका टुक्राहरू फेला परेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।
उत्खननमा फेला परेका अवशेषहरू १६ औँ शताब्दीको हुनसक्ने पुरातत्त्वविद् भाष्कार ज्ञवालीले बताउनुभयो। मन्दिर क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका विषयवस्तु पत्ता लगाउन सरकारी निर्देशानुसार उत्खनन सुरु गरिएको पुरातत्त्वविद् भाष्कार ज्ञवालीले बताउनुभयो । प्रारम्भिक चरणमा मन्दिर क्षेत्रको माटोको ढिस्कोका रूपमा रहेको भागलाई रेखाङ्कन गरेर उत्खनन गर्न सुरु गरिएको र पछि अन्य स्थानमा पनि खन्न सुरु गरिने उहाँको भनाइ छ ।

यस अधि २०५२ सालामा नदी किनारमा फेला परेको सिद्धमात्रीका लिपी शैलीमा लिखित ताम्रपत्रमा १२१२ मिति भेटिएकोमा भने त्यस ताम्रपत्रको सत्यताबारे खोजविन भइरहेको बताउँदै त्यस ताम्रपत्रमा उल्लेख भएअनुसारका समयमा नेपालमा जयादित्य देव भन्ने राजाले राज गरेको कुनै प्रमाण फेला नपरेको हुँदा ताम्रपत्रका बारेमा थप अध्ययन गरिने ज्ञवालीले बताउनुभयो ।
शिवभक्त नन्दीकेश्वरको तपोभूमिका नामले परिचित सो धामको दाहिनेतर्फ पानभार नदी र बायाँतर्फ भूमही नदी बग्छन् । उक्त क्षेत्रमा मामीसती सवरिया मन्दिर र अमरपोखरी ताल छ । यही मन्दिरसँग जोडिएको अर्को मन्दिर हो मामीसती सबरिया मन्दिर । यो मन्दिर सुनवल–११ भँडरीमा पर्दछ ।
धार्मिक किंवदन्तीका अनुसार यही भडँरीमा हाल दोभान भनेर चिनिने भलुही र पानभार खोलाको नजिकै राजाको दरबार थियो । प्राचीन समयमा हालको भडँरीमा राजाराम नामका राजा बस्दथे । उनका रानी मामीसती र एउटा भाञ्जा पर्शुराम पनि थिए । यहाँ अहिले ठूलो सिमलको रुख छ । दरबार अगाडि तुलसीको मन्दिर थियो ।

राजाको नौलाख गाई र ती गाई हेर्ने चरुवा पनि थिए । चरुवा गाईलाई चराउँदै नेपालका विभिन्न ठाउँ र भारतको हस्तिनापुरसम्म पुग्ने गर्दथे । चर्न गएका गाई कहिले छिट्टै त कहिले महीना दिनसम्म पनि फर्किंदैन्थे । चर्न गएका गाई फर्कँदा दरबार आउनुभन्दा पहिले पानी पिउन हालको केरवानीमा अवस्थित अमर पोखरी पुग्थे । अमर पोखरीको पानी खाएपछि अमर भइन्छ भन्ने विश्वास रही आएको थियो ।सुनवल नगरपालिका र मन्दिर विकास समितिले यसको संरक्षण गर्दै आइरहेका छन् ।
भविष्यमा धार्मिक हिसाबले उक्त क्षेत्रको विकास गर्नसके महत्वपूर्ण धार्मिकस्थल बन्ने अपेक्षा गरिएको छ । ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थललाई धार्मिक पर्यटनको केन्द्र बनाउन यहाँ लामो समयदेखि नगरपालिका र स्थानीय अगुवाहरू द्वारा प्रयास गरिँदै आएको छ।






प्रतिक्रिया राख्नुहोस्