पानीका श्रोतहरू सुक्न थालेपछि वीरगञ्जमा ट्याङ्करमार्फत खानेपानी वितरण

वीरगञ्ज । अत्यधिक गर्मीका कारण पानीका श्रोतहरू सुक्न थालेपछि वीरगञ्ज महानगरपालिकाले नगरक्षेत्रका विभिन्न स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरेको छ ।
गर्मीको कारण धारा र चापाकलको पानी सुक्न थालेपछि महानगरपालिकाले नगर क्षेत्रको वडा १, १२, १६, २४ लगायत वडाहरूमा ट्याङ्करमार्फत नगर बासीलाई पानी वितरण गरेको हो ।
जेठको पहिलो सातादेखि नै सर्वसाधारणका घरमा पानीका चापाकल, धाराबाट पानी आउन छाडेको छ भने मोटरले समेत पानी तान्न सकेको छैन । पानीको अभावले नगरबासीको दैनिकी प्रभावित भएपछि करिब १ सातादेखि प्रभावित वडाहरूमा पानी वितरण गर्दै आएको वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले अत्यधिक गर्मीमा नगर बासीलाई केही राहत होस भन्ने अभिप्रायले पानी सुकेको स्थानमा ट्याङ्करमार्फत पानी वितरण गरिएको बताउनुभयो । सुख्खा र खडेरीको कारण पिउने पानीको समेत अभाव भएपछि वडा अध्यक्षहरूले पानीको व्यवस्था गर्न महानगरपालिकालाई आग्रह गरेसँगै ट्याङ्करबाट सम्बन्धित वडामा पानी वितरण गरिएको नगर प्रमुख सिंहले बताउनुभयो ।
यसैगरी अत्यधिक गर्मीले प्रभावित यात्रु तथा सर्वसाधारणलाई वीरगञ्ज महानगरपालिकाले भिडभाड हुने क्षेत्रमा चिसो पानी पिउने व्यवस्था मिलाइएको छ।

महानगरले भन्सार क्षेत्र, नारायणी अस्पताल, घण्टाघर, मालपोत, जिल्ला प्रहरी कार्यालय, यातायात कार्यालय नजिकै चिसो पानीको पिउने व्यवस्था गर्न लागेको समेत नगर प्रमुख सिंहले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्