विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनुपर्छ : महासचिव चापागाईँ

काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)को महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन एकजुट हुन आह्वान गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “सङ्कटासन्न समुदायलाई सुरक्षित एवम् उत्थानशील बनाउन सबैको सहकार्य र एकता आवश्यक छ । विपद् पूर्व गतिविधि र विपद् पूर्व जानकारीले समुदायलाई सुरक्षित बनाउन सहयोग गर्छ ।”
मङ्गलबारदेखि सुरु भएको तीनदिने पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको बैठकलाई भिडियो सम्बोधन गर्दै महासचिव चापागाईँले जलवायु परिवर्तनले हुन सक्ने विपद्सँग जुध्न समुदायलाई नै सक्षम बनाउनु पर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “पूर्वानुमानमा आधारित पूर्व कार्यलाई आइएफआरसीले एक सय ९१ देशमा कार्यान्वयनमा गरिराखेको छ ।”
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो बैठकको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले प्रकोप हुनुपूर्वका तयारीले समुदायलाई उत्थानशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “ जलवायु परिवर्तनले उत्पन्न गर्न सक्ने एवम् प्राकृतिक रुपमा हुन सक्ने विपद्को जोखिमलाई न्यूनीकरण गर्न आवश्यक नीति सुधारमा प्राधिकरणले जोड दिएको छ ।”
नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले पूर्वानुमानमा आधारित पूर्व कार्यलाई सुदृढ बनाउन सकिएमा विपद्बाट हुन सक्ने क्षतिलाई कम गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “विपद् पूर्व, विपद्का समय तथा विपद् पछिका अवस्थामा नेपाल रेडक्रसले मानवीय सेवाका गतिविधि गरिराखेको छ । ”
आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले भविष्यवाणीमा आधारित क्रियाकलाप तथा समुदायमा आधारित अवधारणाबाट विपद्का क्षेत्रमा काम गर्नुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “आइएफआरसीले नेपाल रेडक्रसमार्फत निरन्तर नेपालमा मानवीय सेवाका गतिविधि सहयोग गर्दै आइरहेको छ । आगामी दिनमा यो कार्य जारी रहने छ । ”
कार्यक्रममा पूर्वानुमान केन्द्रका प्रमुख कारा सियोहानले पूर्वानुमानसम्बन्धी क्रियाकलापले सङ्कटासन्न समुदायको उत्थानमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा आइएफआरसीले सगरमाथा आरोही मिङ्मार शेर्पालाई सम्मान गरेको थियो । आरोही शेर्पाको सो सम्मान उहाँका श्रीमती नाम्गेल डोमा शेर्पाले ग्रहण गर्नुभएको थियो ।
सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी शेर्पाले यही जेठ २ गते विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झन्डा फहराउनुभएको थियो । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झन्डा हस्तान्तरण गरेको थियो । सोहीअनुरूप उहाँले आरोहणपश्चात् रेडक्रसको झन्डा फहराउनुभएको जनाइएको छ ।
एसिया–प्रशान्त महासागर क्षेत्रमा पूर्वानुमानसम्बन्धी क्रियाकलापको विस्तार तथा अभिवृद्धि गर्ने ध्येयले आयोजित सो पूर्वानुमानसम्बन्धी सातौँ एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चमा मानवीय सेवामा काम गरिराखेका, वैज्ञानिक, विपद् विशेषज्ञ तथा सरकारी प्रतिनिधिको सहभागिता रहेको छ ।
पूर्वानुमानसम्बन्धी क्रियाकलाप भन्नाले विपद् हुनुभन्दा पहिले अथवा विपद्का एकदमै तीव्र प्रभाव महसुस हुनुभन्दा पहिले भविष्यवाणी गरिएको विपद्का प्रभावको न्यूनीकरण गर्नका लागि सञ्चालन गरिने गतिविधिलाई जनाउँदछ । यस्ता क्रियाकलापको सञ्चालन प्रकोपको भविष्यवाणी गरिएका प्रभावहरूको पूर्वानुमानका आधारमा गरिन्छ र ती क्रियाकलाप प्रकोपका घटना कुन समयमा, कुन स्थानमा र कसरी हुनेछन् भनी गरिएको भविष्यवाणीमा आधारित हुन्छन् ।
एसिया–प्रशान्त महासागर क्षेत्र विश्वमा नै सबैभन्दा बढी प्रकोप जाने सम्भावना भएको क्षेत्र रहेका र धेरै मुलुकले कैयौँ वर्षदेखि यस मानवीय अवधारणाको कार्यान्वयन गर्दै आइरहेका बताइएको छ ।
संवाद मञ्चका सहभागीले एसिया–प्रशान्त महासागर क्षेत्रभरिका यस्ता आयोजनाका सिकाइ तथा अनुभवको आदान–प्रदान गर्ने जनाइएको छ । यी कार्यक्रमले एक–अर्काका उत्कृष्ट अभ्यास तथा चुनौतीहरूबाट सिक्ने र क्षेत्रीय तथा राष्ट्रिय तहहरूमा अझ घनिष्ठ रूपमा मिलेर काम गर्ने उपायहरूका बारेमा छलफल गर्ने अवसर पनि उपलब्ध गराउने बताइएको छ ।
एसिया–प्रशान्त महासागर क्षेत्रीय संवाद मञ्चको आयोजना सन् २०१७ देखि हुँदै आइरहेको छ । मञ्चको सातौँ संस्करणको प्रायोजन पूर्वानुमान केन्द्रद्वारा गरिएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्