भिमदत्तमा डम्पिङ साइट निमार्णका लागि जग्गा उपलब्ध नहुँदा समस्या
कञ्चनपुर । महेन्द्रनगर स्थित भीमदत्त नगरपालिकामा फोहरमैला प्रशोधन केन्द्र (डम्पिङ साइट) निमार्णका लागि जग्गा उपलब्ध नहुँदा समस्या भएको छ ।
लामो समयदेखि नगरपालिकाले फोहरमैला प्रशोधन केन्द्रका लागि उपयुक्त जग्गा भेट्टाउन नसक्दा प्रशोधन केन्द्र निमार्ण अन्योलमा रहेको भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए । “नगरपालिकाले विभिन्न ठाउँमा जग्गा हेरेपनि टुङ्गो लाग्न सकेको छैन ।” प्रवक्ता खड्काले भने–“यहाँका जनताको बुझाईमा फोहोर ल्याएर हाम्रो ठाउँमा फाल्ने हुन भन्ने परेकाले झन समस्या भएको छ ।” उनले जग्गा उपलब्ध हुने ठाउँमा पनि नागरिकको गलत बुझाइका कारण प्रशोधन केन्द्र बन्न नसकेको बताए ।
“अहिलेको आधुनिक किसिमले निमार्ण हुन्छ बस्तीमा केही असर गदैन ।” उनले भने–“नगरपालिकाले जग्गा खरिदका लागि सार्वजनिक सूचना निकाले पनि जग्गाको टुङ्गो लागेन ।” एशियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भीमदत्त नगरपालिकामा आधुनिक सडक निर्माण सँगै फोहर व्यवस्थापनका लागि फोहरमैला प्रशोधन केन्द्र स्थापना गर्ने योजना भएपनि समयमा जग्गा उपलब्ध नहुँदा एडिबीको बजेट फिर्ता भएको हो ।
एडिबीको बजेट फिर्ता भएपनि नगरपालिका आफैले प्रशोधन केन्द्र निमार्ण गर्ने जनाएको छ । तर त्यसका लागि आवश्यक जग्गा उपलब्ध नहुँदा समस्या भएको नगरपालिकाले जनाएको छ ।
यसअघि नगरपालिकाले भीमदत्त नगरपालिकाको चुरे क्षेत्रमा प्रशोधन केन्द्र बनाउने भनेपनि स्थानीयको विरोधका कारण त्यहाँ प्रशोधन केन्द्र बन्न नसकेको हो । नगरपालिकाले जग्गा खोज्नका लागि यसअघि वडाध्यक्षको नेतृत्वमा समिति बनाएर समितिले प्रतिवेदन बुझाइसकेको छ । महेन्द्रनगर बजारबाट मात्रै दैनिक ६ देखी सात टनसम्म फोहोर उठ्ने गरेको नगरपालिकाले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्