रोकिएन नदीजन्य पदार्थको दोहन,निरीह प्रहरी प्रशासन
नवलपरासी । पश्चिम नवलपरासीको नारायणी नदिमा नदीजन्य पर्दाथको चरम दोहन भएको छ । प्रहरी प्रशासनकै मिलेमतोमा नारायणी नदिको दोहन भइरहेको स्थानीयले बताएका छन् ।गाउँपालिका र सरोकारवालहरूले पटक पटक यस विषयमा जानकारी गराएपनी भारतीय ठेकेदारका अघि प्रहरी लाचार भएको स्थानीय यादव गिरीले बताउनु भयो ।
नारायणी नदी अन्तर्गतको सुस्ता गाउँपालिकाको वार्ड न ३,४ र ५ को विभिन्न स्थानबाट अहिले धमाधम मेसिन प्रयोग गरेर ढुङ्गा गिट्टी र बालुवा उत्खनन् गरिँदै आएको छ । भारतीय पक्षले गण्डक मर्मत सम्भारको नाममा नदी दोहन गर्दे आएकोमा अहिले हुलाकी सडक विस्तारको ठेक्का पाएको बज्रगुरु महालक्ष्मी जेभि पनि दोहनकर्ताको रुपमा थपिएको छ । गण्डक मर्मत सम्भारको काम गर्र्दैे आएको एम. एस. यादव एण्ड सन ले लामो समय देखि नारायणी दोहन गर्दे आएको छ भने हुलाकीको कामलाई तीव्रता दिने भन्दै बज्रगुरु महालक्ष्मीले पनि दैनिक सयौँ ट्याक्टर नदीजन्य पर्दाथ निकाल्दै आएको छ ।
सुस्ता गाउँपालिकाले वडा नम्बर ५ को तटीय क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन आइइइ गरेर नदीजन्य पर्दाथ उत्खननको लागी अनुमति दिएको भएपनि अहिले मनलाग्दी अन्य वडा अन्तर्गत पर्ने क्षेत्रबाट पनि दोहन भइरहेको छ । सुस्ता ३ का वडा अध्यक्ष हरिलाल दुषाधले वडा नम्बर ५ को मात्रै आइइइ भएकाले आफ्नो क्षेत्रबाट नदीजन्य पर्दाथ निकालिएको बारे पटक पटक प्रशासन र गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको बताउनुभयो । गाउँपालिका र प्रशासनले आफूहरूलाई भुमरी खेलाइरहेको दुषादको भनाई छ ।
जेसिबि, एक्साभेटर मेसिन प्रयोग गरेर दैनिक सयाँै ट्याक्टर नदीजन्य पर्दाथ उत्खनन् हुँदा नारायणी नदिको धार परिवर्तन हुने जोखिम बढेको छ भने पालिकाको राजश्व सङ्कलनमा पनि असर परेको छ । गाउँपालिकाले वडा नम्बर तिनबाट आइइइ गरेको स्थानबाट नदीजन्य पर्दाथ ल्याएको भन्दै राजश्व काटेर वैद्य बनाउने गरिएको छ ।
गाउँपालिकाले प्रतिट्याक्टर १९ सय रुपैयाँ राजश्व काटेर नदीजन्य पदार्थ उत्खनन् गर्न दिँदै आएको छ तर उत्खनन् गरेर ढुवानीमा प्रयोग गरिएको अधिकांश ट्याक्टरले आइइइ गरिएको क्षेत्र भन्दा बाहिरबाट उत्खनन् गर्दे आएका छन् । गाउँपालिकाले हाल सम्म अन्य स्थानबाट जथाभाबी उत्खनन् गरेर ल्याइएको नदीजन्य पर्दाथलाई आइइइ गरिएको स्थानबाट ल्याएको भन्दै राजश्व काटेर वैद्य बनाउने प्रपञ्च गरिँदै आएको छ ।
हाल सम्म हुलाकी सडकको ठेकेदारले साढे चार लाख बढी र गण्डक मर्मत गरिरहेको ठेकदारले ११ लाख ६० हजार रुपैयाँ राजश्व बुझाएका छन् तर नारायणीबाट राजश्व बुझाएको तुलनामा कयौँ गुणा बढी नदीजन्य पर्दाथ निकासी भएको स्थानीयको दाबी छ । यसअघि स्थानीयले एक दुई ट्याक्टर घरायसी कामको लागी निकाल्दा समेत नछाड्ने प्रहरी प्रशासन अहिले भने मौन बसेका छन् । आँखै अगाडी दोहन भएको जानकारी हुँदा समेत प्रहरीले वास्ता नगरेको स्थानीयको भनाई छ ।
सुस्ता गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले आफूले पटक पटक दोहन रोक्न कोसिस गरेपनि नसकेको बताउनुभएको छ । हामीसँगको कुराकानीमा अध्यक्ष उपाध्यायले आइइ गरेको क्षेत्र भन्दा बाहिरबाट पनि चोरी तस्करी भइरहेको थाहा भएपनि सबै निकायमा जानकारी गराउँदा समेत रोक्न नसकिएको बताउनुभयो ।
वार्ड न ५ पक्लिहवाबाट मात्रै निकाल्नुपर्नेमा त्यसो नभई अन्य स्थानबाट पनि निकालिएको छ अध्यक्ष उपाध्यायले भन्नुभयो यस विषयमा प्रहरी प्रशासन प्रदेश सरकार देखि सङ्घीय सरकार सम्मलाई जानकारी गराउँदा समेत रोक्न सकिएको छैन । जसलाई भने पनि सुनुवाई हुँदैन आफै लाठी लिएर हिँड्न नमिल्ने उपाध्यायले भन्नुभयो ।नाम नबताउने शर्तमा एक स्थानीयले भने प्रहरी प्रशासन बोल्दैन, पालिका बोल्दैन अनि जनताले पत्याउनुपर्ने कि हामी चोखो छौँ भनेर ? यो सबै सेटिङ्गमा भइरहेको खेल हो ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले भने यस विषयमा जानकारी नभएको बताउनुभयो । सुस्ताका अध्यक्ष ज्यु सँग पनि बेलाबेलमा भेटघाट भएकै हो तर खै त्यस किसिमको जानकारी भएन अर्यालले भन्नुभयो ।
भारतले गण्डक मर्मत सम्भारका लागी काम गरेको जानकारी छ तर अहिले हुलाकी सडकका लागी ठेकेदारले नदीजन्य पर्दाथ उत्खननको विषयमा जानकारीमा नभएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो । यसैबिच पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी अर्यालले जथाभाबी उत्खनन् भएको भए तत्कालै रोक्न आफूले प्रहरीलाई निर्देशन दिएको बताउनुभयो । तर स्थानीय भने यो विषय मान्न तयार छैनन् ।
नारायणीभरि मेसिनले सयौँ ट्याक्टर र ट्रिपर मार्फत दोहन हुँदा थाहा नहुने भन्ने कुरै हुदैन् सुस्ताका हरपृत सिंहले भने । नारायणी नदिका कारण वर्षायाममा सुस्ता र प्रतापुरका २२ गाउँ डुबानको जोखिममा पर्ने गरेका छन् । नारायणीमा भएको जथाभाबी दोहनले ठुलो विपत्ति निम्त्याउन् सक्ने जोखिम देखिएको छ । भारतले आफ्नो क्षेत्र तर्फ नदीजन्य पर्दाथ ननिकाल्ने तर नेपाल तर्फको भागबाट जथाभाबी दोहन हुँदा नदिले धार नै परिवर्तन गर्न सक्ने जोखिम बढेको छ ।विभिन्न सञ्चार माध्यमबाट यो विषय उजागर हुँदा समेत प्रहरी प्रशासन मौन रहनुले प्रश्न चिन्ह खडा भएको छ ।








प्रतिक्रिया राख्नुहोस्