परराष्ट्रमन्त्री साउदद्वारा ललितकला प्रदर्शनी अवलोकन
काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले आज राष्ट्रिय ललितकला प्रदर्शनीको अवलोकन भ्रमण गर्नुभएको छ ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको परिसर नक्सालमा राखिएको कला, सिर्जनाको अवलोकन भ्रमणका क्रममा सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै उहाँले कला भावनाको अभिव्यक्त रूप भएको बताउनुभयो ।

कलाले आपसी सम्बन्ध विस्तारमा सहयोग पुर्याउने उल्लेख गर्दै उहाँले आफूले पनि विद्यार्थी कालमा कलाको एउटा विषय लिएर अध्ययन गरेको सुनाउनुभयो । मन्त्री साउदले ललितकला क्षेत्रको विकासका लागि आफ्नो र सरकारको तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच आजै नेकपा (एकीकृत समाजवादी) का नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि प्रदर्शनी स्थलमा गई कला, सिर्जनाको अवलोकन भ्रमण गर्नुभएको थियो ।
यसअघि पनि उक्त प्रदर्शनीमा पूर्वराष्ट्रपति, पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेता सांसद, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, कलाकार, साहित्यकारले अवलोकन भ्रमण गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्