तपाईँ सुन्दै हुनुहुन्छः

५ करोड मूल्य बढीको जग्गा पार्क बनाउन महानगरलाई हस्तान्तरण

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी समाजसेवी तथा व्यवसायी प्रेम कुमार टिबडेवालले वीरगञ्जकाे पानी टयांकी एरियामा रहेको झण्डै ५ करोड मूल्य पर्ने २६ धुर जग्गा महानगरलाई हस्तान्तरण गर्नुभएको छ । 

वीरगञ्ज पब्लिक कलेज अगाडी रहेको मन्दिरसहितको जग्गा टिबडेवालले वीरगंज महानगरपालिकालाई रजिष्ट्रेसन पास गरेर हस्तान्तरण गर्नुभएको हो । 

जिल्ला मालपोत कार्यालय पर्सामा आज रजिष्ट्रेसन पास गरेर टिबडेवालले महानगरलाई लालपुर्जा हस्तान्तरण गर्नुभएको हो । मालपोतमा लाग्ने लाभ करसमेत आफैँले तिरेर टिबटेवालले अहिलेको बजार मूल्य अनुसार करिब ५ करोड भन्दा बढी मूल्यको जग्गा महानगरलाई दान गर्नुभएको हो । 

जग्गा हस्तान्तरण गर्दै टिबडेवालले खुला स्थान नरहेको स्थानमा नागरिकलाई सहज होस भनेर  सार्वजनिक प्रयोगका लागि आफूहरूले महानगरको नाममा जग्गा उपलब्ध गराएको बताउनुभयो । 

विगतमा सार्वजनिक हितका लागि नै मन्दिर बनाएर उक्त जग्गा प्रयोग भइरहेको र आउने दिनमा झनै व्यवस्थित गर्दै महानगरले पार्क बनाइदियोस् भन्ने उद्देश्यले आफूले जग्गा महानगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । 

महानगरको नाममा रजिष्ट्रेसन गरिएको जग्गा धनी पुर्जा आज एक कार्यक्रमका बिच ग्रहण गर्नुहुँदै महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक हितका लागि जग्गा उपलब्ध गराउने जग्गा दाता टिबडेवाललाई दोसल्ला ओढाएर सम्मान समेत गर्नु भएको थियो । 

वीरगंजमा कतिपय व्यक्तिहरूले सार्वजनिक जग्गा अतिक्रमण गरि रहेको अवस्थामा टिवडेवालले करोडौँ मूल्य पर्ने जग्गा सार्वजनिक प्रयोगका लागि महानगरलाई हस्तान्तरण गर्नु सह्रानीय र उदाहरणीय कार्य भएको बताउनुभयो । 

वीरगंज महानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष रितेश कुमार गुप्ताको सक्रियतामा आज जग्गा दाता टिबडेवालले जग्गा नामसारी गरेर महानगरको नाममा रजिष्ट्रेसन पास गरी हस्तान्तरण गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button