तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै 

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेश सभाको विशेष बैठकमा विश्वासको मत लिन लाग्नु भएको छ । 

प्रदेश सरकारमा रहेको नेकपा एमाले सरकारबाट बाहिर निस्केर समर्थन फिर्ता लिएको ३० औँ दिनमा मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नु भएको छ । 

नेपालको संविधान अनुसार सरकार निर्माणमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको खण्डमा ३० दिन भित्र मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिनु पर्ने व्यवस्था रहेको छ । 

नेकपा एमाले सरकार निर्माणको क्रममा सहभागी भएकाले मुख्यमन्त्री यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादव आज साँझ ५ बजे प्रदेशसभा बैठकमा विश्वासको मत लिन लाग्नु भएको प्रदेशसभाका सचिवालयका सचिव रंजितकुमार यादवले जानकारी दिनु भएको छ । 

नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । प्रदेशसभामा १०७ जना प्रदेश सभा सदस्य रहेकाले बहुमतको लागि ५४ जनाको समर्थन आवश्यकता रहेको छ ।

हाल प्रदेश सरकारमा एमाले बाहेक सबै दल सरकारमा सहभागी रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मतमा कुनै समस्या रहेको छैन । प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एमाले भएपनि अन्य सबै दलहरू सरकारमा रहेका छन् । 

प्रदेश सभाकाे अर्को  बैठक ३२ गते बिहीबार बस्ने गरि जेठ २६ गतेको बैठकले  तोकिएपनि मुख्यमन्त्रीको विश्वासको मत लिने भएकाले आज आकस्मिक रुपमा बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button