व्यावसायिक केरा खेती गर्न तीन जना किसानलाई अनुदान

सुनसरी । सुनसरीको दुहबी नगरपालिकाले व्यावसायिक केरा खेती गराउने उद्देश्यले पहिलो पटक नगरका तीन जना कृषकलाई अनुदानमा केराको बिरुवा वितरण गरेको छ ।
कृषकहरूलाई टिस्यु कल्चरबाट उत्पादित जी–९ जातको केराको बिरुवा तीन जना किसानलाई उपलब्ध गराएको हो ।
नगरप्रमुख वेद नारायण गच्छदारले एक कार्यक्रममार्फत प्रति कृषक पाँच कठ्ठा क्षेत्रफलमा लगाउने केराको बिरुवा, जैविक मल, स्प्रेयर, हजारी आदि उपलब्ध गराई व्यावसायिक रुपमा केरा खेती गर्नको लागि निःशुल्क रुपमा अनुदान दिइएको बताउनुभयो ।
दुहबी नगरपालिका कृषि शाखाका प्राविधिक अजय गौतमले अनुदान प्राप्ति भएपछि दुहबीका किसानहरू केरा खेतीमा विस्तार भई आयआर्जनमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
निःशुल्क रुपमा अनुदान पाउनेहरूमा दुहबी नगरपालिका वार्ड न. १२ का किसान गङ्गाराम यादव, रविन कुमार मेहता, वार्ड न. ७ का किसान गीता सरदार रहेको नगरपालिकाले जनाएको छ ।
ल्याबमा उत्पादन हुने ‘टिस्यु कल्चर’ प्रविधि बिरुवाले केरा उत्पादनमा वृद्धि हुने र प्रविधिप्रति आफूहरू आकर्षित भएको किसान गीता सरदारले बताउनुभयो ।
‘टिस्यु कल्चर’ प्रविधिबाट उत्पादन गरिएको बिरुवामा रोगसँग लड्ने क्षमता बढी हुँदा केराको उत्पादकत्व वृद्धि हुनाले यो प्रविधिमा निकै आकर्षण बढ्दै गएको दुहबी १२ का किसान गङ्गाराम यादवले बताउनुभयो ।
अनुदान कार्यक्रमबाट किसानलाई ‘टिस्यु कल्चर’ प्रविधि केराका बिरुवा स्थानीयस्तरमा पाउन थालेपछि यसको खेतीमा किसानहरूको थप आकर्षण बढ्ने छ । “अहिले ‘टिस्यु कल्चर’ प्रविधिबाट केराको बिरुवा उत्पादन अन्य ठाउँमा पनि सुरु भएपछि निर्यात घटेको कृषि शाखाले जनाएको छ ।
के हो टिस्यु कल्चर प्रविधि ?
‘टिस्यु कल्चर’ एउटा स्वास्थ्य बिरुवाको निकै सानो कोष बाट हजारौँ बिरुवा निकाल्न सकिने अत्याधुनिक प्रविधि हो ।
कुनै पनि स्वास्थ्य बिरुवाको डाँठबाट सानो कोष निकालेर हाइटेक ल्याबमा बायोटेक इन्जिनियर (प्राविधिक) ले बिरुवा उत्पादन गर्दछन् । एउटा कोषलाई हाइटेक ल्याबमा नियमित ‘केमिकल’ को प्रयोग गरेर हुर्काउँदै साना साना कोषहरूमा विभाजन गरेर हजारौँ बिरुवा उत्पादन गर्न सकिने प्रविधि रहेको दुहबी नगरपालिकाका कृषि शाखाका प्रमुख कप्लेश्वर यादवले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्