अमेरिका र माल्टा पठाउने भन्दै रकम लिई फरार दुई पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारका लागि अमेरिका र माल्टा पठाइदिने भन्दै रकम लिई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुर चौदण्डीगढी नगरपालिका–७ वेलटार घर भई हाल ललितपुर गोदावरी नगरपालिका–१४ बस्ने ३७ वर्षीया सुनिता न्यौपाने श्रेष्ठ र मुगु छायानाथ रारा नगरपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ३४ वर्षीय प्रवीण खड्का रहेका छन् ।
श्रेष्ठले ओमनाथ मैनालीलाई वैदेशिक रोजगारका लागि अमेरिका पठाइदिने त्यसका लागि रु ३१ लाख लाग्ने र अमेरिका पुगेपछि मोबाइल सफ्टवेयर कम्पनीमा काम लगाइदिने तथा मासिक रु तीन लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटक पटक गरी जम्मा रु छ लाख २१ हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
यसैगरी, खड्काले कर्णबहादुर बुढा समेत दुई जनालाई वैदेशिक रोजगारका लागि माल्टा पठाइदिने र त्यसका लागि प्रतिव्यक्ति रु ११ लाख ५० हजार लाग्ने तथा माल्टा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाई प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी जम्मा रु नौ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको आरोपमा आज काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट प्रहरीले पक्राउ गरेको हो ।







प्रतिक्रिया राख्नुहोस्