तपाईँ सुन्दै हुनुहुन्छः

सामाजिक सुरक्षा भत्ता अब विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत

बाँके  । नेपालगञ्ज उपमहानगरपालिकाले अब सामाजिक सुरक्षा भत्ता विद्युतीय भुक्तानी प्रणाली ‘इएफटी’ मार्फत वितरण गर्ने भएको छ ।

आगामी आर्थिक वर्षदेखि ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने पञ्जीकरण शाखा प्रमुख प्रबिणकुमार रानाले जानकारी दिनुभयो ।

‘इएफटी’ सेवा सुरु भएपछि लाभग्राहीलाई भुक्तानी गर्नुपर्ने रकम सिधै बैङ्क खातामा पठाइनेछ । सम्झौता गरिएका बैङ्कको खातामा सम्बन्धित लाभग्राहीको रकम पठाइने रानाले बताउनुभयो ।

यसअघि सरकारले पठाएको पैसा बैंकले लाभग्राहीको खातामा जम्मा गरिदिने गरेकोमा अब उपमहानगरपालिकाले पैसा पठाउनेछ ।

आगामी साउनदेखि पाइलटिंगको रुपमा नेपालगञ्ज उपमहानगरपालिकासहित ५० वटा स्थानीय तहमा ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका माधव शर्माले बताउनुभयो ।

पञ्जीकरण शाखाले शनिवार नेपालगञ्जमा आयोजना गरेको ’इएफटी र व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षासँग सम्बन्धित कार्य सम्पादन स्तरका सवालहरूमा अन्तरक्रिया’ विषयक कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सचिव र बैंकका प्रतिनिधिहरूलाई ‘इएफटी’ भुक्तानी प्रणालीका विषयमा अभिमुखीकरण गरिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका शर्माले ‘इएफटी’ बारे जानकारी गराउनुभएको हाे   ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालको अध्यक्षता एवम् नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा भएको अन्तरक्रिया कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरणको अवस्था, समस्या र समाधानका विषयसँगै व्यक्तिगत घटना दर्ताको अवस्था, नागरिक चासो र सचेतनाको अवस्थाबारे छलफल गरिएको पञ्जीकरण शाखाकी तुलसा पन्थी आचार्यले बताउनुभयो  ।

कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले ‘इएफटी’ मार्फत सामाजिक सुरक्षा भत्ता वितरणले लाभग्राहीलाई अझ सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

विष्टले उपमहानगरपालिकाले सिधै लाभग्राहीको खातामा पैसा पठाइदिने भएपछि तत्काल पैसा निकाल्न सक्ने सहजता लाभग्राहीलाई हुने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले ‘इएफटी’ मार्फत लाभग्राहीले प्रविधिमैत्री छिटोछरितो र सहज सेवा पाउने बताउनुभयो  ।

रिजालले विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button