तपाईँ सुन्दै हुनुहुन्छः

हलाे छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका  हुन् ।

पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न  थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका– २ राखु भगवतीका देवबहादुर खत्रीले बताउनुभयो । उहाँले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती गर्न सहज गराएको अनुभव सुनाउनुभयो । 

गोरुले एक दिनमा जोत्ने खेत हाते ट्याक्टरले एक,दुई घण्टामा सक्ने भएकाले समय र श्रमको समेत बचत हुँदा किसानहरू गोरु पाल्न छोडेर हाते ट्याक्टरप्रति आकर्षण हुँदै गएको पाइएको उहाँले बताउनुभयो । “गोरु नलाग्ने ठाउँमा समेत हाते ट्याक्टर लैजान र जोत्न सकिने भएकाले यसको राम्रो माग छ, छिटो छरितो काम गर्न निकै उपयोगी साधन छ हाते ट्याक्टर” उहाँले भन्नुभयो । “खेत जोत्ने क्रममा मेशिन बिग्रँदा तत्काल मर्मतको समस्या हुने भएकोले तालिम आवश्यक छ, कृषि यन्त्रका सामानहरू सस्तो र भरपर्दो पाउने व्यवस्था सरकारले मिलाउन पर्छ।” 

कृषि ज्ञान केन्द्र म्याग्दीका केन्द्र प्रमुख किरण सिग्देलले पछिल्लो समय जिल्लामा कृषकले सहजताको लागि कृषि यन्त्र ( खेत जात्ने ट्याक्टर) खरिद गर्नेको सङ्ख्या बढेपनि निश्चित समयमा प्रयोग हुने अन्य समयमा प्रयोग नहुने समस्या बढेको बताउनुभयो । उहाँले निर्वाहमुखी खेतीमा श्रम गर्ने जनशक्ति कम हुँदै जाँदा प्रयोग राम्रो भएपनि कृषि खेतीको आम्दानी भन्दा बढी खर्च देखिएको बताउनुभयो । 

“अनुदानमा ट्याक्टर सँगसँगै बिग्रेमा बनाउने किसानलाई तालिम, कृषि खेतीमा जग्गाको वर्गीकरण गरेर खेती गर्ने प्रचलन राखेमा यसको प्रयोग निरन्तर हुने छ”– उहाँले भन्नुभयो । “पहाडी भूगोलको कृषि खेतीमा गोरु नै प्रभावकारी हुने देखिन्छ तर श्रम गर्ने जनशक्तिको अभावले कृषि खेतीमा आम्दानी कम खर्च बढी भएपनि किसानले कृषि यन्त्रको प्रयोग बढाएका छन्।”

खेतीमा काम गर्ने जनशक्तिको अभावकाबिच किसानले उत्पादन भएको बस्तुकोसमेत उचित मूल्य पाउने व्यवस्था नहुँदा सुविधाहरू भित्रिए पनि खेती योग्य जमिन बाँझो बस्ने क्रम बढ्दै गएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button