तपाईँ सुन्दै हुनुहुन्छः

पाँच महिनामा बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न

म्याग्दी  । उत्तर–दक्षिण जोड्ने कालिगण्डकी कोरिडोर सडक योजना अन्तर्गत बेनी–गलेश्वर सडक स्तरोन्नतिको काम ८० प्रतिशत सम्पन्न भएको छ । 

राष्ट्रिय गौरबको आयोजना मानिएको बेनी–जोमसोम–कोरला सडक योजना अन्तरगत बेनी– गलेश्वर खण्डमा निर्माण कम्पनीले ५ महिनामा ८० प्रतिशत स्तरोन्नतिको काम सकेको हो । 

जिल्लामा भित्रिएका ठुलो योजनाहरूमा ढिलासुस्ती, अलपत्र र समयमै सम्पन्न नहुने समस्याबीच यस क्षेत्रमा निर्माण कम्पनीले छोटो समयमा गरेको काम चौतर्फी रुपमा प्रशंसा बटुलेको छ । अन्य योजना ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई चुनौती बनेको छ ।

कालीगण्डकी कोरिडोरका (बेनी–जोमसोम कोरला सडक योजना) योजना प्रमुख जगत प्रजापतिले कोरिडोर अन्तरगत ठेक्का लागेका खण्डमध्ये सबभन्दा छिटो, छोटो समयमा धेरै काम गरेको खण्ड बेनी– गलेश्वर रहेको बताउनुभयो । 

उहाँले निर्माण कम्पनीले गत माघ ६ गतेबाट सुरु गरेको योजनाको काम हालसम्म सडक तलमाथिको पर्खाल, नाली, चार वटा कल्भट, सडक फराकिलो बनाउने काम, सबवेस र २ सय मिटर आरसिसी ढलानसहित ८० प्रतिशत काम सकेको बताउनुभयो । 

“यस सडकमा बेस र कालोपत्रे काम मात्र बाँकी रहेको छ। यसलाई बर्खापछाडि सम्पन्न गर्ने लक्ष्यमा निर्माण कम्पनी रहेको छ ।”–उहाँले भन्नुभयो । 

मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीका सञ्चालक एवम् निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले ठेक्का सम्झौता लगत्तै योजना स्थलमा उपकरण र मजदुर परिचालन गरेर साँघुरो सडकलाई आठ मिटरको फराकिलो बनाउने, सडक तल माथि पर्खाल, चारवटा कल्भट, दुई सय मिटर आरसीसी ढलानको काम सकिएको बताउनुभयो ।

उहाँले एक हप्ताभित्र पछि रहेको बेस र कालोपत्रेको काम बर्खापछि गर्ने भन्नुभयो । निर्माण व्यवसायी कार्कीले सम्झौता मितिको एक बर्ष अघिनै काम सक्ने प्रतिबद्धता जनाउनुभएको छ । 

दुई किलोमिटर १०२ मिटर सडक कालोपत्रे गर्नका लागि मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालीले भ्याट÷पिएससहित १२ करोड ७५ लाख ९४ हजार ४३६ रुपैयाँमा ठेक्का लिएको थियो । 

दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित गत पुस १७ गते आयोजना र निर्माण कम्पनीविच सम्झौता भएको थियो ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको यो सडक खण्डलाई समयमै सम्पन्न गर्न आयोजनाले नियमित रुपमा अनुगमन, निरीक्षण र समन्वय गर्ने कार्यलाई प्रभावकारी गरेको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो ।

यस सडक स्तरोन्नति समयमै सम्पन्न भएमा बेनी नगरपालिकासहित रघुगंगा र अन्नपूर्ण गाउँपालिका र मुस्ताङवासी र घुम्न आउने पर्यटकलाई आवातजावातमा सहज हुने छ । 

कालीगण्डकी नदीको कटान र माथिबाट खहरे भेलले सडक जीर्ण र साँगुरो बन्दै गएपछि पर्यटक र सर्वसाधारणको तीव्र दबाबपछि जिल्लाका जनप्रतिनिधि, सरोकारवाला र कोरिडोरको सक्रियतामा योजना अघि बढेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button