‘कुष्ठ रोगीको मनोबल बढाउन समाजको व्यवहार परिवर्तन आवश्यक’
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कुष्ठरोग अन्य रोगहरू सरह सामान्य भएको र उपचार सम्भव छ भन्ने जनचेतना वृद्धि गर्नुपर्ने बताउनुभएको छ ।

कुष्ठरोगका बिरामीलाई समाजमा गरिने व्यवहारलाई जनचेतनामूलक कार्यक्रमसहित परिवर्तन ल्याउन सके बिरामीको रोगसँग लड्न सक्ने क्षमता विकास हुने उहाँले बताउनुभयो । इन्टरनेशनल नेपाल फेलोशिप (आइएनएफ) नेपालको शून्य कुष्ठरोग रणनीतिको आज पोखरामा शुभारम्भ गर्दै उहाँले नेपाललाई कुष्ठरोगमुक्त बनाउने सरकारी उद्देश्य प्राप्तिका लागि आइएनएफको साझेदारी रणनीतिको सफलताको कामना गर्नुभयो ।
मुख्यमन्त्री पाण्डेले कुष्ठरोगका बिरामीप्रति विभेद गर्न नहुनेमा जोड दिनुभयो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको म्याग्दी र नवलपरासीमा अन्य जिल्लाका तुलनामा कुष्ठ रोगी बढी रहेकाले रोग निवारण र रोगीहरूको सेवाका लागि आइएनएफले सञ्चालन गरेको अस्पतालले ठूलो योगदान गरेको उल्लेख गर्नुभयो । कुष्ठरोग मुक्त अभियानमा प्रदेश सरकारले सहकार्य गर्ने मुख्यमन्त्रीले प्रतिबद्धता जनाउनुभयो ।
आइएनएफका कार्यकारी अध्यक्ष रामचन्द्र तिमोथीले नेपाल सरकारले सन् २०३० सम्ममा कुष्ठरोगलाई पूर्ण रुपमा निवारण गरी कुष्ठरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएकामा सो लक्ष्यलाई साकार पार्न संस्थाले रणनीतिक योजना तयार गरेको बताउनुभयो ।
कार्यक्रममा समाज कल्याण परिषद्का सदस्य सचिव मनोज भट्टले आइएनएफले सुरु गरेको कार्यक्रमबाट सरकारको कुष्ठरोग उन्मुलनको नीतिलाई सहयोग पुग्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्