नेपाल छिमेकी देशको सम्पन्नताबाट लाभ लिन चाहन्छ : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले छिमेकी देशको सम्पन्नताबाट नेपालले लाभ लिन चाहेको बताउनुभएको छ ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग मन्त्रालयमा भएको दुई पक्षीय भेटवार्ताका क्रममा मन्त्री शर्माले नेपाल र नेपाली जनताको हितमा अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोगको सधैँ स्वागत गर्ने बताउनुभयो ।
नेपाल र चीनबिच घनिष्ठ छिमेकीको सम्बन्ध रहेको उल्लेख गर्दै उहाँले सूचना र प्रविधिको क्षेत्रबाट समृद्धि हासिल गर्ने नेपालको प्राथमिकता भएकाले छिमेकीलगायत अन्तर्राष्ट्रिय समुदायबाट यसमा आउने सहयोग स्वागतयोग्य हुने बताउनुभयो ।
आफूहरूले आफ्नै भूउपग्रहको विकास गर्ने, फोरजी इन्टरनेट सेवा देश व्यापीरुपमा विस्तार गर्दै फाइभजी सेवाको तयारी गर्ने, सूचना प्रविधि विश्वविद्यालय स्थापना गर्ने र सबै प्रदेशमा आइटी पार्क बनाउने प्राथमिकता निर्धारण गरेको उल्लेख गर्दै मन्त्री शर्माले प्रविधिको क्षेत्रमा सम्पन्नता हासिल गरिसकेका चीनसहित अन्तर्राष्ट्रिय समुदायले यसमा सहयोग गर्नसक्ने बताउनुभयो । नेपाल सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सूचना प्रविधि, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकताको क्षेत्र निर्धारण गरेको पनि उहाँले स्मरण गराउनुभयो ।

विकासोन्मुख र भूपरिवेष्टित राष्ट्र नेपालमा सूचना प्रविधिबाट आर्थिक सम्पन्नता हासिल गर्न सकिन्छ विश्वास वृद्धि हुँदै गएको उल्लेख गर्दै उहाँले सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादनका लागि सम्पन्न देशहरूसँग ज्ञान र सिपको आदानप्रदान गर्न चाहेको बताउनुभयो । सूचना प्रविधिसँग सम्बन्धित चीनका धेरै कम्पनीले नेपालमा काम गरिरहेको उल्लेख गर्दै उहाँले यसको गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
सूचना प्रविधिसँगै आम सञ्चारको क्षेत्रमा पनि चीनको सहयोग महत्वपूर्ण रहँदै आएको उल्लेख गर्दै मन्त्री शर्माले भन्नुभयो– ‘पत्रकारिताको अध्ययन, ज्ञान र सिपको आदानप्रदानमा नेपाल र चीनको सहकार्य हुँदै आएको छ, यसमा अझै वृद्धि गर्नुपर्छ भन्ने लागेको छ ।’ नेपाल प्राकृतिक रुपमा विश्वकै सुन्दर मुलुक भएकाले चलचित्र क्षेत्रको पनि विकास गर्न सकिने प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले फिल्म सिटी निर्माणको सवालमा पनि चीनले सहयोग गर्नसक्ने बताउनुभयो ।
नेपालका लागि चिनियाँ राजदूत छन् सोङले सूचना प्रविधि र सञ्चारको क्षेत्रमा नेपालको प्राथमिकता जानकारी भएकाले धेरै क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभयो । दुवै देशको आर्थिक उन्नतिबाट यहाँका जनताले लाभ लिनसक्ने भन्दै उहाँले चीनले दूरसञ्चार क्षेत्रमा गरेको प्रगतिबाट नेपालले लाभ लिनसक्ने बताउनुभयो । चीनमा कुनै सरकारी कार्यालयमा जाँदा कागज वा कार्ड बोक्नुपर्ने अवस्था नरहेको र सबै काम मोबाइलबाटै हुने उल्लेख गर्दै उहाँले यसबाट नेपालले पनि फाइदा लिनसक्ने बताउनुभयो ।
डेटा एप्लिकेसनको क्षेत्रमा चीनले विश्वमै अगुवाइ गरिरहेको उल्लेख गर्दै उहाँले नेपालले पनि प्रविधिको माध्यमबाट विकास र सुशासनको क्षेत्रमा आफूलाई अघि बढाउन सक्ने बताउनुभयो । नेपालको नयाँ पुस्तामा डिजिटल वर्ल्ड तयार गर्न सके यसबाट यहाँको समृद्धिको ढोका खुल्ने पनि राजदूत सोङको विश्वास थियो । उहाँले प्रविधिसहित विविध क्षेत्रमा चीन नेपाललाई सहयोग गर्न तयार गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । भेटमा दुवै देशका अधिकारीहरूको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्