तपाईँ सुन्दै हुनुहुन्छः

चुरियामाई सुरुङको काम अन्तिम चरणमा

मकवानपुर ।बागमती प्रदेशको राजधानी हेटौँडा स्थित दक्षिण एसियाकै पहिलो मानिने ऐतिहासिक चुरियामाई सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ । विक्रम संवत् १९७४ मै बनेको यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो, त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो ।

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजनाका साथ उक्त सुरुङ मार्गको काम अगाडी बढाइएको थियो । ३ करोड ३६ लाख रुपैयाँको लागतमा माउन्टेन इन्फ्रा कन्स्ट्रक्सनसंग २०७७ साल वैशाखमा एक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि कोरोना महामारी, प्राविधिक कठिनाइ लगायतका कारण दुई पटक म्याद थप भएको थियो । पछिल्लो पटक थपिएको म्याद अनुसार आगामी असार मसान्तभित्र काम सम्पन्न गरेर हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको बागमती प्रदेशका भौतिक पूर्वाधार निर्देशनालयका निर्देशक लोकनाथ रेग्मी बताउनुभयो ।

राजधानी काठमाडौँलाई मकवानपुरको हेटौँडा हुँदै तराई मार्गसम्म जोड्न चन्द्र शमशेरको पालामा निर्माण गरिएको यो ऐतिहासिक सुरुङ मार्गको एउटा खण्ड करिब ४० मिटर भत्किएको थियो, त्यसलाई मर्मत गरेर वारपार गर्न सक्ने बनाइएको हो । यो सुरुङ मार्ग ऐतिहासिक भएकाले सवारी साधन सञ्चालन भन्दा पनि पर्यटकले अवलोकन र पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने योजना प्रदेश सरकारको रहेको छ । नेपालका प्रथम स्नातक इन्जिनियर भनिने ब्रिगेडियर जनरल डिल्लीजंग थापाले ५ सय मिटर लम्बाइको यो सुरुङ मार्ग डिजाइन गर्नुभएको थियो ।

चुरे पर्वतमा बनेको यो सुरुङ मार्ग साढे २ मिटर चौडाइ, ३ मिटर उचाइ र ५०० मिटर लम्बाइको छ ।राणाकालमा रक्सौलबाट बाराको अमलेखगञ्जसम्म रेल चल्थ्यो, त्यहाँबाट मकवानपुरको भीमफेदीसम्म बनाइएको सडक मार्गमा चुरे पहाड छिचोल्दै हेटौँडा छिर्न सजिलो थिएन । त्यसैले पहाडमा घुमाउरो बाटो बनाउनुको साटो सीधा सुरुङ मार्ग खनेर गाडी चलाइएको थियो । यही सुरुङ मार्ग हुँदै चल्ने गाडीहरूले मकवानपुरको भीमफेदीसम्म समान ल्याउँथे । काठमाडौँसम्म जोडिने सडक नभएकाले भीमफेँदीबाट भरिया लगाएर काठमाडौँसम्म सामान भित्राइन्थ्यो । प्रजातन्त्र पुनर्स्थापनापछि त्रिभुवन राजपथ बन्यो ।

त्यसै क्रममा यो सुरुङ मार्गको बीच खण्डमा विष्फोट गराएर भत्काएर त्यसैमाथि सडक बनाइएको थियो । त्रिभुवन राजपथको बक्स कटिङ रोडदेखि दक्षिणतिरको भागमा धसिएको स्थान मर्मत गरेर सुरुङ मार्ग खुलाइएको हो । माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको यो सुरुङ मार्गबारे स्विस भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्गडम अफ नेपाल’मा पनि चर्चा गर्नु भएको छ । उहाँले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ उल्लेख गर्नु भएको छ । भारतमा पनि नबनेको यस्तो सुरुङ मार्ग नेपालमा देख्दा आफू अचम्मित र खुसी भएको टोनी हेगनले आफ्नो पुस्तकमा उल्लेख गर्नु भएको छ ।

यसैबीच उक्त सुरुङ मार्गको बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार निरीक्षण गर्नुभएको छ । आफु मुख्यमन्त्री हुँदा निकासा गरेको रकमबाट पुनर्निर्माण भएको चुरीयामाइ सुरुङको पौडेलसहित प्रदेशका पूर्व राज्यमन्त्री जुनेलीमाया श्रेष्ठलगायतले निरीक्षण गर्नुभएको हो । निरीक्षणका क्रममा सुरुङको सिरानभागबाट छिरेर अर्को तर्फबाट सजिलै निस्कन पाउँदा उहाँले खुसी समेत ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button