वीरगञ्ज महानगरपालिकाले ४ हजार धारा निःशुल्क जडान गर्दै
वीरगञ्ज । प्रचण्ड गर्मी र खडेरीको कारण खानेपानीको चापाकल धारा सुकेपछि वीरगन्ज महानगरपालिकाले तत्काल नगर क्षेत्रका १७ वटा वडामा चार हजार खानेपानी धारा निःशुल्क जडान गर्ने भएको छ ।

वर्षा नहुँदा र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापाकलमा पानी आउन छोडेपछि विपन्न तथा गरिब परिवारलाई प्राथमिकतामा राखेर नेपाल खानेपानी संस्थानको सहयोगमा निःशुल्क धारा जडान गर्ने कार्य शुरु गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
नगर प्रमुख सिंहले वीरगन्ज महानगरपालिकाले वडा नम्बर १ देखि १७ सम्म र वडा नम्बर १९ मा नेपाल खानेपानी संस्थानसँग समन्वय गरी ४ हजार घरधुरीमा निःशुल्क सरकारी धारा जडान गरिने भएकोले सम्बन्धित वडावासीहरूलाई वडाध्यक्षसँग सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
अहिले सरकारी धारा जडान गर्न आउने ग्राहकहरूको सङ्ख्या बढेको खानेपानी संस्थान वीरगन्ज शाखाका प्रमुख इन्जिनियर निरन महर्जनले बताउनुभयो । पहिले सरकारी धारा जडान गर्न नमान्ने र पानी प्रयोग नगर्ने ग्राहकहरू अहिले दिनहुँ १० देखि १२ जनासम्म धारा जडानका लागि निवेदन दिन आउने गरेको प्रमुख महर्जनले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्