गाउँपालिकाद्वारा अगरबत्ती उत्पादन सुरु
बैतडी । बैतडीको शिवनाथ गाउँपालिकाले अगरबत्ती उत्पादन गर्न थालेको छ ।
पालिकाका २५ जना उद्यमीहरूलाई तालिम प्रदान गरी “शिवनाथ दर्शन” नामको अगरबत्ती उत्पादन सुरु गरिएको हो ।

अहिले परीक्षणका लागि अगरबत्ती उत्पादन गरिएको र आगामी दिनमा बिक्रीका लागि उत्पादन गरिने गाउँपालिकाका उद्योग विकास शाखा प्रमुख भुपेन्द्र पाण्डेयले बताउनुभयो । गाउँघरमै उत्पादित अगरबत्ती गुणस्तरीय र आयातित अगरबत्ती भन्दा सस्तोमा बिक्री गर्न सकिने उहाँले बताउनुभयो ।

पालिकाका १ सय २० जनालाई उद्यमशीलताको तालिम प्रदान गरी उद्यमी बनाइएको गाउँपालिकाले जनाएको छ । तालिम दिइएका मध्येबाट दालमोठ र अगरबत्ती उत्पादन सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र महताले बताउनुभयो ।
गाउँघरमै फुर्सदको समयमा उद्यम गर्न चाहने व्यक्तिहरूलाई तालिम दिएर अगरबत्ती उत्पादन पेसामा आबद्ध गराउन खोजिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्