सुर्खेतमा ‘दादुरा रुवेला खोज तथा खोप’ अभियान शुरु हुँदै
सुर्खेत । सुर्खेतमा यही जेठ २८ गतेदेखि असार पाँच गतेसम्म १५ वर्ष मुनिका एक लाख नौ हजार बालबालिकालाई खोज तथा खोप अभियान मार्फत दादुराको सुई लगाइने भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले आज वीरेन्द्रनगरमा आयोजना गरेको ‘दादुरा रुवेला खोप अभियान सञ्चालन सम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाहरूको अभिमुखीकरण कार्यक्रममा जिल्लाका ५ सय ४७ वटा खोप केन्द्रबाट दादुराको सुई लगाइने जानकारी दिएको हो ।

सुर्खेत जिल्लामा चालु आर्थिक वर्ष २०७९/८० मा ६५ जना बिरामीको चेकजाँच गर्दा पाँच जनामा दादुरा भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो । उहाँले जिल्लाका तीन वटा पालिकामा दादुरा भेटिएको बताउनुभयो ।
सुर्खेतसहित देशका १५ वटा जिल्लामा दादुरा फैलिइसकेको हुँदा सरकारले २०२६ सम्म दादुरा निवारण गर्ने नयाँ लक्ष्य लिएको छ । खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई जना स्वास्थ्यकर्मी र दुई जना स्वयंसेवक खटाइने भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. रविन खड्काले दादुराको खोप लगाइसकेका व्यक्तिलाई पनि दादुरा हुनसक्ने भएकाले बालबालिकालाई भने अभियानमा छुट्टाउन नहुने जनाउनुभयो ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले दादुरा रुवेला उन्मुलन महाअभियानलाई सफलतापूर्वक अब सुर्खेतलाई पूर्ण खोप जिल्लाको रुपमा निरन्तर अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले दादुरा रुवेला उन्मुलन महाअभियानमा जिल्लाका सबै राजनीतिक दलसँगै स्थानीय तहको थप सक्रियता बढाउन सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्