सौतेनी बाबुद्वारा नाबालिका छोरी बलात्कार
वीरगञ्ज । पर्साको वीरगञ्जमा लामो समयदेखि सौतेनी बुवाले नाबालिका छोरीको बलात्कार गरेको रहस्य सार्वजनिक भएको छ ।
वीरगञ्ज महानगरपालिका वडा नंं.३ छपकैया निवासी १५ वर्षीय नाबालिकाको बलात्कार भएको उजुरी पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा दर्ता गराएपछि घटना सार्वजनिक भएको हो । नाबालिकाकी आमाले नै आफ्नो पूर्व श्रीमानले आफ्नी छोरीलाई जबरजस्ती करणी गरेको जाहेरी पर्सा प्रहरीमा दिएपछि घटना बाहिरिएको हो ।
महिलाले पूर्व श्रीमानले छोरीलाई ११ वर्षको उमेरदेखि नै निरन्तर बलात्कार गरेको जाहेरी दिएकी छिन् । बालिकाका सौतेनी बुवा यही वैशाखमा वैदेशिक रोजगारीमा गएपछि छोरीले घटनाको बारेमा जानकारी गराएपछि मात्र पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।
पीडित र अभियुक्त दुवै मुस्लिम समुदायका हुन् । पीडित बालिका अहिले आफ्नी आमाको साथमा रहेको प्रहरी नायव उपरीक्षक दीपक गिरीले बताउनुभयो । पूर्व श्रीमानको हिंसा सहन गर्न नसकेर महिलाले अर्को विवाह गरेर हिँडेपछि घरमा एक्लै रहेकी सौतेनी छोरीलाई अभियुक्तले लामो समय देखि बलात्कार गर्दै आएको बालिकाले प्रहरी समक्ष प्रारम्भिक बयान समेत दिएको गिरीले बताउनुभयो ।
घटना विषयमा अनुसन्धान सुरु गरिएको र अभियुक्त नै वैदेशिक रोजगारीका लागि बाहिर रहेकाले आवश्यक कानुनी प्रक्रिया लागेको प्रवक्ता गिरीले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा अभियुक्तलाई पक्राउ गर्ने प्रक्रिया अगाडी बढाइने उहाँको भनाई छ । पीडित नाबालिकालाई स्वास्थ्य परिक्षण गरी आमाको जिम्मा लगाइएको छ ।






प्रतिक्रिया राख्नुहोस्