सामुदायिक क्याम्पस सञ्चालनमा देखिएको समस्या समाधान गर्न सरोकारवालाको जोड

सिन्धुपाल्चोक । सामुदायिक क्याम्पस सञ्चालनमा देखिएको समस्या समाधान गर्न सबै तहका सरकारले ध्यान दिनुपर्नेमा सरोकारवालाको जोड दिएका छन् । इन्द्रावती बहुमुखी क्याम्पस मेलम्चीले मङ्गलवार मेलम्चीमा आयोजना गरेको “उच्च शिक्षामा स्थानीय सरकारको भूमिका ”विषयक अन्तरक्रियामा बोल्दै उनीहरूले आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा धेरै नै समस्या देखिएको बताए ।
अधिकार प्राप्त सरकारले यथाशीघ्र ऐन ल्याएर क्याम्पसहरूलाई अनुदान तथा पर्याप्त दरबन्दीको व्यवस्थापन गर्नुपर्ने प्राध्यापक चन्द्रबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले खोजेको रोजेको विषय पढाउन सके ग्रामीण भेगका क्याम्पसमा विद्यार्थी सङ्ख्या बढ्ने बताउनुभयो । उहाँले आयआर्जनको कामलाई पनि ध्यान दिन सके गाउँका क्याम्पस दिगो र बलियो हुनेमा जोड दिनुभयो । उहाँले क्याम्पसहरू आवश्यकता अनुसार गाभ्नु पर्ने बताउनुभयो । त्यस्तै शिक्षाविद् डा. चन्द्रप्रसाद लुइँटेलले नीति बनाएर स्थानीय सरकारले अनुदान दिने व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।अल्झाउने तरिकाले सञ्चालन गर्नुभन्दा त्यस्ता क्याम्पस बन्द गर्नुपर्ने सुझाव दिनुभयो ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले शिक्षालाई रोजगारीसँग जोड्नुपर्ने बताउनुभयो । तामाङले नीति बनाएर सामुदायिक क्याम्पस सञ्चालनमा नगरले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगर पालिकाले आगामी आर्थिक वर्षबाट कक्षा ९ र १० मा दिवा खाजा व्यवस्थापन गर्ने जानकारी दिनुभयो । कार्यक्रममा उपप्रमुख उमा प्रधान र प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल लगायतले उच्च शिक्षा सञ्चालनमा स्थानीय सरकारले गर्न सक्ने सहयोगको विषयमा छलफल गरेर अघि बढ्ने बताउनुभएको थियो ।
नगरका सामाजिक विकास समितिका संयोजक मेलम्ची–१० का अध्यक्ष अमृत खनालले नगरले शिक्षा क्षेत्रमा गरेका कार्यको जानकारी गराउँदै विपन्नलाई छात्रवृत्ति प्रदान गरेर गाउँमै गुणस्तरीय शिक्षा दिनुपर्नेमा जोड दिनुभयो । तेर्से माध्यमिक विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्याल लगायत अन्य प्रधानाध्यापक तथा शिक्षकहरूले ११ कक्षामा नै विद्यार्थी सङ्ख्या न्यून रहेकोमा चिन्ता व्यक्त गर्नुभयो । कार्यक्रममा क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठ, क्याम्पस सञ्चालन समिति अध्यक्ष सिपी दुलालले सडक, बिजुली सँगै शिक्षालाई पनि स्थानीय सरकारले उतिकै ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले अन्य स्थानमा अनुदान दिएको उदाहरण दिँदै मेलम्ची नगरले पनि यस तर्फ ध्यान दिन आग्रह गर्नुभयो । दुलालले नयाँ कार्यसमिति बने सँगै आफूहरू गुणस्तरीय शिक्षाका लागि लागि परेको बताउनुभयो । कार्यक्रममा स्ववियू सभापति किसन दुलाल तथा अन्य पदाधिकारी , वडा अध्यक्षहरू क्याम्पस सञ्चालन समिति सदस्यहरु लगायतको उपस्थिति रहेको सञ्चालन समिति उपाध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्