तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व नासुलाई करको दर हेरफेरको निर्णयका लागि होइन सहयोगीका रुपमा लिइएको हो : अर्थमन्त्री महत

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले करको दर हेरफेरबारे आफूहरूले नै निर्णय गरेको बताउनुभएको छ । 

बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे संसदमा प्रश्न उठेपछि आज संसदमा जवाफ दिँदै अर्थमन्त्री महतले पारदर्शी ढङ्गबाट कुनै पनि प्रभावबाट मुक्त भएर काम गरेको र आफ्नो इमान्दारितामाथि शङ्का नगर्न आग्रह समेत गर्नुभयो । 

करको दर हेरफेरबारे आफू सहितका आधिकारिक व्यक्तिहरूले निर्णय गरेको बताउँदै अर्थमन्त्री महतले यसलाई इन्ट्री गर्न भने पूर्वनायब सुब्बा रामकृष्ण श्रेष्ठलाई सहयोगीका रुपमा लिएको स्वीकार गर्नुभयो ।

अर्थमन्त्री महतले आफू आउनुभन्दा अगाडि नै सहयोगीका लागि रामकृष्ण श्रेष्ठको नियुक्ति भइसकेको बताउँदै अर्थमन्त्री महतले निर्णय प्रक्रियामा उहाँ नभएको स्पष्ट पार्नुभयो ।

निर्णय गरिसकेपछि निर्णय प्रक्रियामा बसेका पदाधिकारीको उपस्थिति र निर्देशनमा यो इन्टर गर भनेर इन्टर गर्ने काम मात्र नायब सुब्बाले गरेको पनि मन्त्री महतले बताउनुभयो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले करको दर हेरफेरबारे संसद्लाई जवाफ दिन माग गर्नुभयो । 

प्रतिनिधि सभाको आजको बैठकमा विशेष समय लिएर प्रमुख सचेतक गिरीले बिचौलिया मार्फत करको दर हेरफेर गरिएको विषयमा आम जनताले थाहा पाउनु पर्ने विषयमा अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिनु पर्ने बताउनुभयो । 

अर्थमन्त्रीले चित्तबुझ्दो जवाफ दिन नसके संसदीय समिति बनाएर छानबिन गर्न माग समेत गर्नुभयो ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेट निर्माणमा अनधिकृत व्यक्तिको सहभागिताबारे अर्थमन्त्रीलाई प्रश्न गर्नुभयो । 

सांसद वाग्लेले षड्यन्त्रमूलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको, एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रक्रिया पुर्‍याएर सल्लाहकारीय भूमिकामा राखिएको विषयमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको बारे सरकारले स्पष्ट जवाफ नदिए राप्रपाले सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिनु भयो । 

बजेट निर्माणका क्रममा पूर्व नासु रामकृष्ण श्रेष्ठलाई कसको स्वार्थका लागि आर्थिक विधेयक बनाउन सहभागी गराइएको हो भन्दै प्रश्न गर्दै स्पष्ट जवाफको माग गर्नुभयो । 

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अर्थ मन्त्रालयमा अवकाशप्राप्त कर्मचारी रामकृष्ण श्रेष्ठलाई कसको इन्ट्रेस्टमा किन नियुक्ति गरिएको भनेर प्रश्न गर्दै यसबारे अर्थमन्त्रीले जवाफ दिनुपर्ने बताउनुभयो ।

बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह र नेपाल मजदुर किसान पार्टीका सांसद प्रम सुवालले बजेटको करको दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा अर्थमन्त्री डा. महतसँग जवाफ माग गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button