सुकुम्बासी बस्तीमा आगलागी, एक घर पूर्ण रुपमा ध्वस्त

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीस्थित सुकुम्बासी बस्तीमा आगलागी भएर एक घर पूर्ण रुपमा ध्वस्त भएको छ ।
विद्युत् तार सर्ट भएर आज बिहान करिब ११ बजे कलावति सिंहको कच्ची घरमा आगलागी भएको छ । आगलागी भएर घर र घरभित्रका सबै समान जलेर खरानी भएका छन् ।
भीमदत्त नगरपालिका १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देवकोटाले आगलागीबाट घर र घरभित्रका सबै समान जलेको बताउनुभएको छ । उहाँका अनुसार घरभित्र राखिएका नगद सहित लत्ता कपडा र खाद्यान्न सबै जलेका छन् । भाँडाकुँडा पनि जलेर काम नलाग्ने भएका छन् ।
नगरपालिका १८ को योजना तर्जुमा कार्यक्रम सिंह सहभागी हुन आएको बेला घरमा आगलागी भएको हो । स्थानीयले आगो लागेको जानकारी गराएपछि वडा अध्यक्ष देवकोटा सहित सदस्यहरु तत्काल त्यहाँ पुगेका थिए ।
वडा अध्यक्ष देवकोटा सहित वडा सदस्य हेम बस्नेत, रुपा जैरु, सीता भण्डारी लगायत कार्यक्रमका सहभागी, नगर प्रहरी र अन्य स्थानीय सबैले पानी फालेर आगो नियन्त्रणमा लिएका छन् ।
वडा कार्यालयले तत्काल सिहलाई राहत स्वरूप नगद १५ हजार सहयोग गर्ने वडा अध्यक्ष देवकोटाले घोषणा गर्नु भएको छ।








प्रतिक्रिया राख्नुहोस्