तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा सञ्चालित मालिका फ्रेस हाउसमा ५ बोरा अस्वस्थकर मासु नष्ट 

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० मा सञ्चालित  मालिका फ्रेस हाउसमा अनुगमन गर्दा फ्रिजमा राखिएको पाँच बोरा बराबरको परिमाणमा अस्वस्थ मासु नष्ट गरिएको छ । आइतबार दिउसो महानगरको टोली र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, उपभोक्ता हित संरक्षण मञ्च लगायतको टोलीले नष्ट गरेको हो । 

टोलीले मालिका फ्रेस हाउस बन्दसमेत गराएको छ । मालिकाको एउटै फ्रिजमा मात्र अव्यवस्थित र सड्न लागेका  खसीका टाउका, कुखुराको मासु, टाउको, खुट्टा, माछा र कुकुरलाई दिन राखिएको कुखुराका हड्डी एकै ठाउँमा मिसाएर राखिएको पाइएको  थियो ।  उपभोक्ताको अधिकार र स्वास्थ्यमा गम्भीर लापरवाही गरेको भन्दै उक्त पसलको मासु नष्ट गर्नुका साथै बन्द गराइएको अधिकारीले जानकारी दिनुभयो । 

मालिका फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनाले खान मिल्ने र नमिल्ने मासु एउटै फ्रिजमा राखिएको स्वीकारसमेत गरेको तर तिमिल्सिनालाई आवश्यक कारबाही हुने अधिकारीको भनाई छ  । महानगरका पशु चिकित्सक डा. दिपेश केसीको सुझावका आधारमा खान पूर्ण रुपमा अयोग्य भएपछि  मासु जफत  गरिएको हो । बिक्री गर्न लागिएको उक्त मासु चैत्र महिनादेखि राखिएको पसलका कर्मचारीले बताएका थिए । 

सबै प्रकारका  मासु एउटै फ्रिजमा भद्रगोल तरिकाले राखेको भेटिएपछि मासु बरामद गरिएको महानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख ठानेश्वर सापकोटाले बताउनुभयो । ‘खान अयोग्य देखिएपछि जनप्रतिनिधिको रोहवरमा मासु र मम बरामद गरी नष्ट गरेका हौँ’ उहाँले भन्नुभयो  । 

उक्त मास पसलले भरतपुरमै सञ्चालित फ्रोजन मःमलाई किमा  बनाएर बेच्ने गरेको पाइएको छ । 

सो क्रममा टोलीले उक्त किङ्ग मममा गएर अनुगमन गर्दा अस्वस्थकर मम बेचेको पाइएकोले । उक्त पसलबाट समेत १ हजार प्लेट फ्रोजन मःम जफत गरी नष्ट गरिएको पशु चिकित्सक डा केसीले जानकारी दिनुभयो । मालिकाबाट मासुको किमा किनेर किङ ममले फ्रोजन मम बनाउने गरेको पाइएको छ ।

फ्रोजन मःम सप्लाई गर्दै आएको किङ मःमले फ्रोजन ममको प्याकेटमा लेबल र अनुज्ञा पत्र समेत नलिएको उहाँले बताउनु भयो ।  । गर्मी बढेसँगै भरतपुर महानगरमा सञ्चालित जुस पसल, क्यान्टिन होटल , रेष्टुरेण्ट, खाजा पसलमा अस्वस्थ खाद्यवस्तु बिक्री गरेको गुनासो बढेपछि अनुगमनलाई तीव्रता दिइएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button