तपाईँ सुन्दै हुनुहुन्छः

विश्व वातावरण दिवस : डोजरे विकास र प्लास्टिक प्रयोगमा रोक लगाउन जोड  

जुम्ला । जुम्लामा सोमबार ५० औँ विश्व वातावरण दिवस मनाइएको छ । वन डिभिजन कार्यालयको परिसरमा वृक्षारोपण, सहित कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त र्‍यालीपछि आयोजित अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ । वन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले डोजरे विकास र प्लास्टिक प्रयोगमालाई निरुत्साहित गर्दै वातावरण संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, “वातावरणमैत्री नीति निर्माण र वातावरणीय प्रभाव मूल्याङ्कनको कार्यान्वयन गरी पूर्वाधार विकास गर्न जरुरी छ । जल,जमिन, जङ्गलको संरक्षण विना विकासको अर्थ छैन । वातावरण संरक्षणका क्षेत्रमा समेत स्थानीयतहले लगानी बढाउन जरुरी छ ।”

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले अब तीनै तहका सरकारले विकास आर्थिक, सामाजिक र वातावरणीय विकासमा जोड दिनुपर्ने बताउनुभयो । डोजरे विकासको अन्त्य,प्लास्टिकजन्य वस्तुको प्रयोगमा रोक,वृक्षारोपण कार्यक्रममा लगानी जस्ता विषयमा ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । 

सामुदायिक वन उपभोक्ता महासङ्घ जुम्लाका अध्यक्ष गोकर्ण चौलागाईले वातावरण संरक्षणका लागि सरकारी निकायसँगै स्थानीय नागरिकको सक्रियता पनि जरुरी रहेको बताउनुभयो । वनमा आगो लगाउनु हुदैन्,एक रुख काटे कम्तीमा ५ बिरुवा रोप्नु पर्छ भन्ने मानसिकताको विकास गर्न जरुरी रहेको उहाँको भनाई छ । 

हरेक वर्ष जेठ २२ गते औपचारिक रुपमा मनाइने विश्व वातावरण दिवस वातावरण संरक्षणका चिल्ला कुरा मात्र गरेर सम्भव नभएकोले नीतिगत रूपमै जुम्लाले काम गर्नुपर्ने अवस्था आएकोमा सरोकारवालाको जोड छ । 

साथै प्लास्टिक प्रयोगलाई न्युनिकरणका लागि आफैबाट सुरुवात गर्न र स्थानीयतहले डोजरे विकासमा नियन्त्रण गर्न समेत सुझाव दिएका छन् । वातावरण दिवसका अवसरमा वन कार्यालयले वन जङ्गलमा आगलागी नियन्त्रणमा योगदान गर्ने तीनवटै सुरक्षा निकायलाई नगद सहित सम्मान गरेको छ 

डोजरे विकासले निम्त्याएको विकास
गत असोज १९ देखि २५ गतेसम्म भएको बेमौसमी वर्षासँगै आएको बाढी पहिरोले जुम्लामा ठुलो जनधनको क्षति गर्‍यो । जुम्लाको मार्सीधानका फाँट र दर्जनौँ विद्युत् गृह लगायतका क्षेत्रमा ठुलो क्षति भयो । तातोपानी ४ हाँकु स्थित नेत्र ज्योति मावि विद्यालय बगर बन्यो । 

त्यस्तै, बाढीले तातोपानीको ५ हेक्टर र तिलाको १३ हेक्टर गरी १८ हेक्टर मार्सीफाँट बगर बनेको छ । पातारासी, गुठिचौर,तातोपानी र तिला गाउँपालिकामा बाढीले विशेष क्षति भएको थियो । अहिले पनि विपद्का आँला घाउ जुम्लामा ज्युँका त्युँ छन् । अन्य ज्युलोमा अहिले रोपाई सुरु भएपनि तातोपानीको लाछु ज्युलोको ३० प्रतिशत भाग बाझिएको छ । 

करिब १ सय ४० बढी सिचाई कुला भत्किएपछि अहिले सम्म अधिकांश पुर्ननिर्माण नहुँदा रोपाइँमा समस्या भएको छ । यसरी वर्षासँगै आउने बाढी पहिरोले क्षति गराउने विभिन्न कारण मध्य पहिलो डोजर विकासलाई लिइएको छ । स्थानीय सरकार सञ्चालनपछि डोजरे विकासलाई विनाश मात्र निम्त्याएको छैन । वातावरण समेत कुरूप बन्दै गएको छ । भने बाढी पहिरोको जोखिम बढ्दै गएको छ । 

जुम्लाका आठै पालिकाले पहिलो प्राथमिकता दिएर सडक निर्माण गरेका छन् । जिल्लाका ६० वटै वडामा सडकले छोएको छ । तर अधिकांश सडक वातावरणीय प्रभाव मूल्याङ्कन बिनै निर्माण भएकै कारण प्राकृतिक प्रकोपले क्षति हुँदै आएको छ । 

पछिल्लो समय जुम्लामा सामान्य वर्षा हुने बित्तिकै बाढी पहिरो आउने प्रमुख कारण मध्य डोजरे विकास एक हो । डिभिजन वन कार्यालय जुम्लाका प्रमुख  दिनेशजंग खत्रीले भने,“असोजमा आएको बाढीको पहिलो कारण नै डोजरे विकास हो । 

वातावरण संरक्षण बिना विकासको अर्थ छैन भन्ने तथ्य धेरैले बुझेर बुझ पचाएका छन् । सङ्घीयतापछि डोजरे विकास रोक्न मुस्किल छ । जसका कारण वातावरण संरक्षण चुनौतीको विषय बन्दै गएको छ । वातावरणीय प्रभाव मूल्याङ्कन बिना डोजर प्रयोगमा रोक लगाइनु पर्छ ।”

जुम्लाको माथिल्लो तटीय क्षेत्र पातारासी र गुठिचौर क्षेत्रको पूर्वाधार विकासलाई वातावरणमैत्री बनाउन जरुरी छ । माथिल्लो तटीय क्षेत्रको डोजरले विकासले तल्लो तटीय क्षेत्र तातोपानी र तिलामा बाढीले क्षति गरेको अनुसन्धानले देखाएको छ । 

डोजरले विकासले निम्त्याएको विनाशलाई रोक्न वातावरणीय प्रभाव मूल्याङ्कन नीति निर्माण र प्रभावकारी कार्यान्वयनमा स्थानीयतहको ध्यानाकर्षण हुन जरुरी छ ।  जुम्लाका तातोपानीको भेरीखोला, गिढीखोला पातारासी र गुठिचौर क्षेत्र बाढीको उच्च जोखिममा छन् । 

डोजरे विकाससँगै अनियन्त्रित मानवीय गतिविधि, अतिदृष्टी, वन फडानी लगायतका कारणले वातावरण कुरूप बन्दै छ । स्थानीयतहको ध्यान बाटो बनाउन तर्फ मात्रै देखिन्छ । वातावरण संरक्षण बिना मानव अस्तित्व सङ्कटमा पर्ने निश्चित छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button