‘चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर’
जनकपुरधाम । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले चुरे तथा पर्यावरण संरक्षणका लागि सरकार गम्भीर रहेको बताउनुभएको छ ।
चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका पदाधिकारीसँग आज सिरहामा भएको भेटघाटमा मन्त्री महतोले चुरे क्षेत्रको संवेदनशीलता र त्यसले तराई मधेसमा पार्ने प्रभावका विषयमा सरकार सचेत रहेकाले संरक्षणमा प्रतिकूल असर पार्ने गरी कुनै कार्य नहुने प्रष्ट पार्नुभयो ।
उहाँले पर्यावरण संरक्षणका क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको सकारात्मक भूमिकाले चुरे र चुरे हुँदै बग्ने खहरे एवं नदी प्रणालीको व्यवस्थापनका लागि महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै निरन्तर कलम चलाउन आग्रह गर्नुभएको समाजका अध्यक्ष अनिलकुमार कर्णले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा चुरे तथा नदी प्रणाली सरोकार पत्रकार समाजका केन्द्रीय अध्यक्ष अनिलकुमार कर्णले संस्थाको उद्देश्यबारे जानकारी गराउँदै सञ्चारकर्मीलाई चुरे तथा नदी प्रणालीसम्बन्धी ज्ञान तथा संवेदनशीलता अभिवृद्धिका लागि वनमन्त्री महतोको ध्यानाकर्षण गराउनुभएको थियो ।
त्यस अवसरमा मन्त्री महतोले पत्रकार समाजका अध्यक्ष कर्ण, उपाध्यक्ष अभरेन्द्र कुमार यादव र महासचिव विजयकुमार साह लगायतलाई सम्मान गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्