‘राष्ट्रिय सम्पत्तिको रुपमा रहने महत्वपूर्ण अभिलेख सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्छ’

काठमाडौँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले राष्ट्रिय अभिलेखालय व्यवस्थापनका विषयमा सम्बन्धित मन्त्रालयलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ ।
समितिको आज बसेको बैठकले राष्ट्रिय अभिलेखालयका प्रमुखसँगको छलफलपछि राष्ट्रिय अभिलेखको व्यवस्थापन र सुरक्षाका सम्बन्धमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई बोलाएर छलफल गर्ने निर्णय गरेको हो ।
बैठकमा सदस्यहरुले राष्ट्रिय अभिलेख सुरक्षित गर्न राज्यले प्राथमिकता नदिएको भन्दै सम्बन्धित मन्त्रालयहरूलाई नै बोलाएर छलफल गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
समिति सदस्यहरुले राष्ट्रिय सम्पत्तिको रुपमा रहने महत्वपूर्ण अभिलेख सुरक्षित राख्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
छलफलमा राष्ट्रिय अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले स्रोत साधनको अभावमा राष्ट्रिय अभिलेख सुरक्षित गर्न समस्या परिरहेको जानकारी दिनुभयो ।
प्रमुख प्रधानाङ्गले कतिपय राष्ट्रिय महत्त्वका अभिलेख राज्यका तर्फबाट नै संरक्षण हुन नसकेको र कतिपय ऐतिहासिक महत्त्वका सन्धि सम्झौताका मूलप्रति अभिलेखालयमा सुरक्षित नरहेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्