जल सम्पदा रेडियो कार्यक्रम प्रसारण हुने

सुर्खेत । रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतबाट जल सम्पदा रेडियो कार्यक्रम प्रसारण हुने भएको छ ।
रेडियो नेपाल सुर्खेत र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुने भएको हो ।
मन्त्रालयबाट जलस्रोत, ऊर्जा तथा सिँचाइका क्षेत्रमा भएका गतिविधि तथा खानेपानी र सरसफाइ सम्बन्धि जनचेतनामूलक सामग्री प्रसारण गर्ने मुख्य उद्देश्यले सञ्चालन गर्न लागिएको कार्यक्रम प्रसारण सम्बन्धी दुई पक्षीय सम्झौता भएको हो ।

आज मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्मा र रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय सुर्खेतका वरिष्ठ सङ्गीत संयोजक भानुभक्त खड्काले सम्झौता पत्र आदानप्रदान गर्नुभयो ।
साप्ताहिक रुपमा प्रसारण हुने जल सम्पदा कार्यक्रम अब प्रत्येक शुक्रबार अपराह्न ४ः३० बजे रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुनेछ ।

जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका सूचनामूलक गतिविधिका साथै मुख्य रुपमा कर्णाली प्रदेशमा स्वच्छ खानेपानीको पहुँच तथा सरसफाइको अवस्था, खानेपानी जन्य रोग नियन्त्रण, न्यूनीकरणका उपाय र अपनाउनुपर्ने सावधानी लगायतका विषयमा प्रभावकारी सामग्री संयोजन गरी कार्यक्रम उत्पादन गर्न मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर गोपाल शर्माले सुझाव दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्