कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जाँदा उत्पादनमा कमी
काठमाडौँ । कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या विविध कारणले घट्दै जाँदा कृषि उत्पादनमा कमी भएको छ ।
अर्थमन्त्री डा प्रकाश शरण महतले आज सङ्घीय संसद्को दुवै सदनमा पेश गर्नुभएको चालु आर्थिक वर्षको सर्वेक्षणमा कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या घट्दै जानु, कृषि पेशाभन्दा अन्य पेशातर्फ श्रम शक्ति आकर्षित हुँदै जानु र वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्या उच्च रहेका कारण विशेष गरी हिमाली र पहाडी क्षेत्रमा कृषियोग्य जमिन बाँझो हुने क्रम बढ्दै गएकाले कृषि उत्पादनमा कमी आएको उल्लेख छ ।

आय, रोजगारी तथा जीवन निर्वाहको दृष्टिले कृषि क्षेत्र राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहँदै आएको र प्रत्यक्ष रूपमा कृषिमा आबद्ध जनसङ्ख्या समेत घट्दै गएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । सन् २०१८ मा भएको श्रम शक्ति सर्वेक्षणअनुसार कृषि क्षेत्रमा आबद्ध जनसङ्ख्या ६० दशमलव चार प्रतिशत रहेकोमा सन् २०२१ मा भएको श्रम शक्ति सर्वेक्षणअनुसार यस जनसङ्ख्या ५० दशमलव चार प्रतिशत रहेको छ ।
यसैगरी देशलाई माछामा आत्मनिर्भर बनाउने र निकासी प्रवर्द्धन गर्न दीर्घकालीन लक्ष्यका साथ राष्ट्रिय मत्स्य विकास नीति, २०७९ तर्जुमा भई कार्यान्वयनमा आएको छ । चालु आवमा कृषि वन र मत्स्यपालनको उत्पादन दुई दशमलव सात प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । गत आर्थिक वर्ष यसको वृद्धिदर दुई दशमलव दुई प्रतिशत रहेको थियो ।
विगत वर्षदेखि नै कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान घट्दै गइरहेको छ । आर्थिक वर्ष २०७०/७१ मा कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान ३० दशमलव तीन प्रतिशत रहेकोमा चालु आवमा यस्तो योगदान २४ दशमलव एक प्रतिशत रहने अनुमान आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ ।
सर्वेक्षणमा नेपालमा स्याउ उत्पादन वृद्धि गर्न जुम्लामा स्याउ बगैँचा स्थापना तथा सञ्चालन मापदण्ड लागू गरिएको उल्लेख छ । यसैगरी आव २०७१/७२ देखि कृषि बीमा शुल्क रकममा ७५ प्रतिशत अनुदान दिन व्यवस्था गरिए पनि आव २०७९/८० मा उक्त अनुदान ८० प्रतिशत पुर्याएको सर्वेक्षणमा उल्लेख छ ।








प्रतिक्रिया राख्नुहोस्