तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसलाई काम गरेर देखाउने अवसर छ : नेता डा. रिजाल 

नेपालगञ्ज । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले काँग्रेसलाई काम गरेर देखाउने अवसर रहेको बताउनुभएको छ । 

नेपाली कांग्रेस बाँकेले आज पार्टी कार्यालय नेपालगञ्जमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य डा.रिजालले राज्य सत्ता सञ्चालनमा काँग्रेसको निर्णायक भूमिका रहेकाले पार्टीको साखलाई पुनः स्थापित गर्ने अवसर रहेको बताउनुभयो ।

“अहिले कांग्रेस केन्द्र सरकारमा छ, प्रदेशमा हाम्रै नेतृत्व वा हामी सम्मिलित सरकार छ, बढी स्थानीय तह हामीले नै जितेका छौँ, त्यसैले काम गरेर जनतामा आशा जागृत गराउने राम्रो अवसर हाम्रासामु छ”, उहाँले भन्नुभयो । उहाँले  एक अर्कालाई दोषारोपण गरेर पार्टी नबन्ने उल्लेख गर्नुहुँदै काँग्रेसलाई फेरि बलियो पार्टीका रुपमा पुनः स्थापित गर्न एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले काँग्रेसले अब आफैँले आफैलाई ऐनामा हेरेर गम्भीर आत्मसमिक्षाका साथ अघि बढ्ने प्रण गर्नुपर्ने समय आएको उल्लेख गर्नुभयो । जनतामा देखिएको ठूलो निराशालाई आशामा बदल्ने अठोट काँग्रेसले गर्नुपर्ने डा.रिजालको भनाई छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले तल्लो तहदेखि माथिल्लो तहका सबै नेतृत्व पङ्क्तिदेखि आम कार्यकर्ता विधि विधान अनुरुप चल्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नेता कार्यकर्ताहरू आपसमा संवाद गरेर एकताबद्ध भई पार्टी बलियो बनाउने अभियानमा लाग्नुको विकल्प नरहेको बताउनुभयो । “टिम बनाउने होइन, टिम बिर्सनुस्, मन पर्ने नेताको जयजयकार र मन नपर्नेको खेदो खन्ने होइन, विधि विधान र एजेन्डालाई हेर्नुस्”, सभापति पुनले भन्नुभयो “टिम बिर्सनुस्, पार्टी बनाउन लाग्नुस् ।”

जिल्ला सभापति नारायणप्रसाद गौडेलले बाँकेमा काँग्रेसलाई कमजोर हुन नदिने दृढता व्यक्त गर्नुभयो । उहाँले पार्टी बनाउने चासो र चिन्ता आफूहरूमा रहेको बताउँदै सधैँ अवसरको खोजीमा दौडिनेहरूले पार्टी छोड्दा विचलित हुन जरुरी नरहेको बताउनुभयो ।

“कसैले पार्टी छोड्यो भनेर विचलित नहुनुस्, उहाँहरूको असन्तुष्टि के हो भन्ने कुरा पार्टीले बुझ्न खोजेर संवाद पनि गरेको हो, अवसरका लागि दौडिने प्रवृत्तिलाई रोक्न सकिन्न तर कांग्रेस बनाउने कुरामा हामी गम्भीर छौँ, नयाँ मान्छेलाई जोड्ने गरी हामी अघि बढ्नुपर्दछ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button