तपाईँ सुन्दै हुनुहुन्छः

‘नीति तथा कार्यक्रममा सबै दलका विचार र भावना समेटिएका छन्’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सबै राजनीतिक दलका विचार र भावना समेटिएको बताउनुभएको छ ।

प्रतिनिधिसभा आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले यस पटकको नीति तथा कार्यक्रम विगतका सरकारको नीति तथा कार्यक्रमको निरन्तरतामा केही मौलिकता सहित प्रस्तुत भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले मङ्सिर ४ मा सम्पन्न निर्वाचनपछि बनेका दुवै गठबन्धनका न्यूनतम साझा कार्यक्रमका सकारात्मक कुराहरूलाई नीति तथा कार्यक्रममा समेटिएको हुनाले यो राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई कतिपयले ठिक ढङ्गबाट आएको र केही सच्याउनुपर्छ भन्ने सुझाव आए पनि समग्रमा देशलाई निकास दिने गरी आएको बताउनुभयो ।

त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताउनुभएको थियो ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद् अवरुद्ध गरेपछि प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर जलहरी लगायतका विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित विषयमा प्रमुख प्रतिपक्ष दलको नेतालाई जोडेर विचार व्यक्त हुनु उचित नभएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले जलहरी राख्दा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत छानबिन गरिरहेको उल्लेख गर्नुहुँदै यसमा सरकारको सहयोग रहने बताउनुभयो ।

शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आज प्रधानमन्त्रीले स्पष्टीकरण दिएपछि संसद्को अवरोध हटेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button