सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम

काठमाडौँ । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक भ्रष्टाचार नियन्त्रणको उपयुक्त माध्यम भएको बताउनुभएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले सूचना आयोगको सहयोगमा आजदेखि राजधानीमा सुरु गरेको दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहमा उहाँले शासन पद्धतिलाई जिम्मेवार बनाउन सूचनाको हकसम्बन्धी कानुनको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
विभिन्न संस्थाको पहलमा आएको सूचनाको हकसम्बन्धी कानुनले नागरिकको सुसूचित हुने अधिकार सुरक्षित गरी भ्रष्टाचार नियन्त्रणमा सहयोग गरेको प्रमुख आयुक्त गुरुङको भनाइ थियो । नागरिकलाई सबै निकायमा सूचना माग्ने अधिकार रहेकाले त्यसको उपयोग सबैले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
महासङ्घका अध्यक्ष उमिद बागचन्दले प्रशिक्षक प्रशिक्षणमा सातै प्रदेशका २५ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिनुभयो ।
प्रशिक्षार्थीले तालिमपछि देशभर सूचनाको हकसम्बन्धी चेतना जगाउँदै अभियानका रूपमा जागरणमूलक प्रशिक्षण दिने उहाँको भनाइ थियो । तालिम आइतबारसम्म सञ्चालन हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्