तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा प्रहरीद्वारा ठूलो सङ्ख्यामा चोर पक्राउ 

जनकपुरधाम । धनुषा प्रहरीले एक साता भित्रमा ठूलो सङ्ख्याका चोर सहित चोरीका सामानहरू पक्राउ गरेर आज पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको छ ।

विगत केही समय यता जनकपुरधाम सहित जिल्लामा चोरीको घटनामा वृद्धि भएपछि जिल्ला प्रहरी कार्यालय धनुषाले विशेष टोली परिचालन गरेर २७ जना चोरलाई चोरीका सामान सहित पक्राउ गरेर सार्वजनिक गरेको छ भने सबै जना माथि चोरी तथा अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाउने काम भएको छ । 

पक्राउ पर्ने चोरहरूमा मोटरसाइकल देखि ब्याट्रीसम्मका चोरहरू रहेको र उनीहरुलाई एक साता भित्रमा पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनु भएको छ । पक्राउ परेका चोरहरूको उमेर १९ वर्ष देखि २५ वर्षसम्मको रहेको प्रहरीले जानकारी दिएको छ । 

यसले जनकपुरधाममा चोरको ठूलो समूह पक्राउ गर्नमा प्रहरी सफल भएको दाबी प्रहरीले गरेको छ । यसै गरि प्रहरीले दुई दर्जन चोरीका मोटरसाइकलहरू पनि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा चालु आर्थिक वर्षमा ९६ वटा चोरीको घटना दर्ता भएकोमा त्यस मध्ये ९७ जना पक्राउ गरेर कानून बमोजिम कारबाही गरिएको प्रहरीले जनाएको छ । 

चोरीको मुद्दामा पक्राउ परेका तर पीडितले जाहेरी नदिएका ३३० जना माथि अभद्र व्यवहार अन्तर्गत मुद्दा दर्ता गर्ने काम भएको छ । यसै गरि अभद्र व्यवहार अन्तर्गत ४०० जनालाई पक्राउ गरेर मुद्दा चलाउने काम भएको छ । यसै गरि हालसम्म चोरी भएका ६९ वटा मोटरसाइकल पक्राउ गरेको छ । 

यसै गरि चोरी भएको १९७ मोबाइल बरामद गरि पीडितलाई उपलब्ध गराएको छ भने भन्सार छली गरि ल्याएको ७ करोड ३५ लाख २४ हजार ८ सय राजश्व सङ्कलन गरेको जानकारी पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनु भएको छ ।   

प्रतिक्रिया राख्नुहोस्

Back to top button