लोककल्याणकारी विज्ञापन बापतको रकम रोकिन्न : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले लोककल्याणकारी विज्ञापनबापत मिडियाले पाउने रकम नरोकिने बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश समितिको ज्ञापनपत्र बुझ्दै मन्त्री शर्माले जुनसुकै हालतमा पनि लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराइने प्रतिबद्धता जनाउनुभएको हो ।
‘अहिले रकम कटौती गरेको भन्दा पनि विनियोजित बजेटको रकम नपुगेको हो, हामीले जेठ १ गते नै अर्थ मन्त्रालयमा पत्र पठाएर अपुग रकम माग गरेका छौँ, अर्थबाट रकम आउने छ, यदि आएन भने पनि मन्त्रालयले आन्तरिक व्यवस्थापन गरेर रकम उपलब्ध गराउने छ, लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको मनसाय छैन’– उहाँले भन्नुभयो । मन्त्रालय जहिल्यै पनि नेपाली मिडियाको हक अधिकारको पक्षमा भएको जनाउँदै मन्त्री शर्माले भन्नुभयो– ‘तपाइँहरुलाई म यति विश्वास दिलाउँछु, यो रकम जसरी पनि उपलब्ध गराइने छ ।’
उहाँले आन्दोलनमा रहेको पत्रकार महासङ्घको उपत्यका प्रदेश समितिलाई आन्दोलन रोक्नसमेत आग्रह गर्नुभयो । ‘लोककल्याणकारी विज्ञापन रोक्ने सरकारको कुनै मनसाय नभएकाले तपाईँहरूले आन्दोलन नै गर्न पर्दैनथ्यो, अब आन्दोलन रोक्न आग्रह गर्दछु । लोककल्याणकारी विज्ञापन बापतको रकम उपलब्ध गराउन सरकार प्रतिबद्ध छ’ उहाँले भन्नुभयो ।
ज्ञापन बुझाउने क्रममा महासङ्घ केन्द्रका महासचिव रोशन पुरी, वरिष्ठ पत्रकार दामोदर दुवाडी, महासङ्घका प्रदेश अध्यक्ष श्रीजन झा, महासचिव टेनिस रोका लगायतको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया राख्नुहोस्