तपाईँ सुन्दै हुनुहुन्छः

यातायात व्यवस्था कार्यालय चितवनमा १० महिनामा ७१ करोड आम्दानी 

चितवन । चालु आर्थिक बर्ष ०७९/८० मा यातायात व्यवस्था कार्यालय, चितवनको दश महिनामा ७१ करोड बढी राजश्व सङ्कलन भएको छ । चालु आवको साउन देखि वैशाख महिनासम्म कार्यालयमा ७१ करोड ७ लाख ८० हजार ३७ रुपैंया सङ्कलन भएको हो । 

कार्यालयले अन्य प्रशासनिक सेवा शुल्क २८ हजार रुपैंया, यातायातको क्षेत्रको आम्दानी, प्रशासनिक दण्ड, जरिवाना, जफत, बेरुजु, सवारी साधन कर, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुर बाट आम्दानी गर्दै आएको छ । 

जसअनुसार सबैभन्दा बढी कर सवारीसाधन करबाट ५९ करोड ३४ लाख ७५ हजार ४०९ रुपैंया र सबैभन्दा कम बेरुजु शीर्षकबाट ४ हजार ४०० रुपैंया आम्दानी भएको छ । 

यस्तै यातायात क्षेत्रको आम्दानीबाट ४ करोड १६ लाख ८७ हजार ४०६ रुपैंया, अन्य प्रशासनिक सेवा शुल्क शीर्षकबाट २८ हजार रुपैंया र चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी नवीकरण दस्तुरबाट ७ करोड ५१ लाख ५६ हजार ४५२ रुपैंया सङ्कलन भएको कार्यालयले जानकारी दिएको छ । 

कार्यालयका प्रमुख काली बहादुर भुजेलले कार्यालयमा सबै सेवा प्रवाह गरेसँगै राजश्व सङ्कलनमा पनि वृद्धि हुँदै गएको बताउनुभयो  । ‘अहिले कार्यालयमा चालक अनुमति पत्र लिने सेवाग्राहीको चाप बढेसँगै अन्य सेवा लिने ग्राहक पनि बढेका छन् , यसले गर्दा राजश्व सङ्कलन पनि वृद्धि हुँदै गएको छ ।’ भुजेलले भन्नुभयो, सवारीसाधनको सवारीको सङ्ख्या बढेसँगै आम्दानी पनि बढ्छ ।’ 

अघिल्लो वर्षका तुलनामा सबै शीर्षकमा समग्र रुपमा राजश्व सङ्कलनमा वृद्धि हुँदै गएको उहाँको भनाई छ । बागमती प्रदेशका कुनै पनि जिल्लाका सवारी धनीले यहाँ कर, दस्तुर बुझाउन सक्छन् भने, चितवन बसाई सराई गर्ने सवारी धनीले कर बुझाउन सक्छन् । कार्यालयले चालु आवको असार मसान्तसम्म ८० करोड रुपैंया सम्म कर सङ्कलन गर्ने प्रक्षेपण गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button