प्रतिनिधिसभा बैठक : नीति तथा कार्यक्रम माथि छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफल जारी छ ।
बैठकमा सांसदहरुले सरकारको वार्षिक नीति तथा कार्यक्रम माथि दलीय आधारमा आ–आफ्नो धारणा राखिरहनुभएको छ ।
छलफलमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कृषि उत्पादन, योजनाको प्राथमिकतामा ध्यान दिँदै कार्यान्वयमूखी नीति ल्याउनुपर्ने बताउनुभयो ।
अध्यक्ष नेपालले अराजकताका कारण भ्रष्टाचार र व्यक्तिवादको रोग मौलाएको बताउँदै यस्ता रोग नियन्त्रण गर्न चुनौती बन्दै गएको बताउनुभयो ।
सांसद जीवन परियारले स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकासमा प्राथमिकता दिने नीति तथा कार्यक्रममा समावेश हुनुपर्ने बताउनुभयो ।
सांसद परियारले लगानीमैत्री वातावरण बनाउँदै वैदेशिक रोजगारीमा गएका र गैरआवसीय नेपालीलाई नेपालमा नै काम गर्ने वातावरण बनाउनेतर्फ ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
सांसद योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम समाजका कुन वर्ग र समुदायप्रति आकर्षित छ भन्नेमा अन्यौल रहेको बताउनुभयो ।
सांसद भट्टराईले सामाजिक आर्थिक रूपान्तरणमार्फत सबै प्रकारको विभेद अन्त्य गर्दै समाजवाद उन्मुख गन्तव्य भएपनि वर्तमान नीति तथा कार्यक्रमले यसलाई भुलेको बताउनुभयो ।
सांसद देवेन्द्र पौडेलले लगानी प्रतिबद्धता घट्दै गएको र वर्तमान अर्थतन्त्रको अवस्थाका बारेमा एकले अर्कालाई विरोध गर्ने नभई ग्रहण गर्दै सच्याएर अघि बढ्ने कुरा महत्वपूर्ण भएकाले साझा प्रतिबद्धताको आवश्यकता रहेको बताउनुभयो ।
सांसद पौडेलले वर्तमान आर्थिक अवस्थालाई सुधार ल्याउन सबैको साझा प्रतिबद्धता र साझा सङ्कल्प गरेर वर्तमान गम्भीर परिस्थितिलाई सम्हालेर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।
सांसद गणेश पराजुलीले निर्यातमा सुधार हुन नसकेको भन्दै नेपाल–भारत व्यापारमा नेपालबाट निर्यात गर्न पहल कदमी लिनुपर्ने बताउनुभयो ।
सांसद राजेन्द्र लिङ्देनले मुलुकको वर्तमान आर्थिक स्थिति बिग्रनु भनेको भावी पुस्तालाई समेत प्रभावित पार्ने भन्दै नीति कार्यक्रममा सुधार गर्न अप्ठेरो मान्न नहुने बताउनुभयो ।
सांसद लिङ्देनले मन्त्रीपरिषद्को निर्णयलाई अख्तियारले हेर्न नपाउने र हेर्नै पाउने भएपनि अख्तियारमा आफ्ना कारिन्दा नियुक्ति गर्दा भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताउनुभयो ।
यसअघि शून्य समयमा सांसदहरुले आ–आफ्ना निर्वाचन क्षेत्रका पूर्वाधार निर्माण चाँडो सम्पन्न गर्न प्राथमिकता दिन, पशु चौपायामा फैलिएको महामारी, जनशक्ति विकास, खानेपानी समस्या, वातावरणीय प्रदूषण, उखु किसानको समस्या लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
छलफलमा सांसदहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ ।








प्रतिक्रिया राख्नुहोस्