भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्छ : गृहमन्त्री श्रेष्ठ
गोरखा । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र कमिसनको जालो तोड्नुपर्नेमा जोड दिनुभएको छ ।
गोरखा सदरमुकाममा आज भएको प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समिति र गोरखा जिल्ला समन्वय समितिको साधारणसभालाई सम्बोधन गर्दै उहाँले सरकार देशलाई नयाँ ढङ्गबाट अघि बढाउन भ्रष्टाचार र कमिसनको जालो तोड्ने अभियानमा लागेको बताउनुभयो ।
“सामाजिक, आर्थिक रुपान्तरणको माध्यमबाट नागरिकको जीवनमा परिवर्तन ल्याउन सामाजिक न्यायसहितको समाज स्थापना गर्नुपर्छ”, उहाँले भन्नुभयो “समृद्धिको गुणात्मक फड्को मार्न सरकारले भ्रष्टाचार विरुद्धको अभियानलाई कार्य सूचीअनुसार गरेको छ ।”
नक्कली शरणार्थी प्रकरणको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । “भ्रष्टाचारी र अपराधीलाई लुक्न, छिप्न दिइदैन”, उहाँले भन्नुभयो, “कोही निर्दोष फस्ने र दोषी उम्कने पनि छैन ।” उहाँले सरकारको उद्देश्य सुशासन, समृद्धि र सामाजिक न्यायसहित समाज स्थापना गर्नु रहेको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार गठन भएदेखि नै शुसासनको पक्षमा जोड दिँदै आएको बताउनुभयो । “नेपाली जनतामा नयाँ आशा र विश्वास दिलाउनेतर्फ सरकार अघि बढिरहेको छ”, उहाँले भन्नुभयो, “त्यसैको परिणाम स्वरुप सरकार कडा रूपमा भ्रष्टाचारको विरुद्धमा उभिएको छ ।”
उहाँले शान्ति प्रक्रियाको बाँकी कार्यभार पूरा गर्न सरकार लागि परेको जानकारी दिँदै संसद्मा पेस भएको विधेयक पारित भए लगत्तै सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले बाँकी रहेको कामलाई पूर्णता दिने बताउनुभयो । रासस








प्रतिक्रिया राख्नुहोस्