शरणार्थी प्रकरणमा दोषी छुट्दैनन् : गृहमन्त्री श्रेष्ठ
गोरखा । गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी प्रकरणमा दोषी नछुट्ने बताउनुभएको छ ।
प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश तथा गोरखा जिल्ला समन्वय समितिको वार्षिक साधारण सभालाई गोरखामा सम्बोधन गर्दै उनले तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाएर कानूनी दायरामा ल्याउने प्रक्रिया अघि बढेको उहाँले बताउनुभयो ।
‘आफ्नै देशका नागरिकलाई अनागरिक बनाएर अर्को देशको शरणार्थी बनाउँदै विदेश पठाउने षड्यन्त्र गरी पैसा र सम्पत्ति आर्जन गर्ने काम भयो, त्यसमा संलग्नहरूलाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान अगाडी बढाएर कानूनको दायरामा ल्याउने प्रक्रिया अघि बढाएका छौँ,’ उहाँले भन्नुभयो, ‘कोही निर्दोष फस्ने छैन, कुनै दोषीले छुटकारा पाउने छैनन् ।’
विना पूर्वाग्रह स्वतन्त्र र निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीलाई स्पष्ट निर्देशन दिइएको र निर्दोषलाई सामाजिक प्रतिष्ठामा आँच आउने र अनावश्यक दुःख दिने गरी तान्ने काम गर्न नहुने उहाँले बताउनुभयो ।
जहाँ जहाँ गडबडी छ, भ्रष्टाचार भएको छ, जहाँ जहाँ अपराध छ, त्यो लुक्न पाउने छैन, अपराधी भ्रष्टाचारी, कालोबजारी, तस्कर, ठग सबैलाई प्रहरी अगाडी आत्मसमर्पण गर्ने अवस्था सृजना गर्ने उहाँको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्