मदन राई फाउण्डेशनमा रहेका बालबालिकाको उद्धार गर्न माग

काठमाडौँ । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले खोटाङस्थित मदन सुभद्रा फाउण्डेशनमा भएको बाल यौन दुर्व्यवहार घटनाको स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
आज काठमाडौँमा सार्वजनिक गरिएको प्रतिवेदनअनुसार विद्यालयका सञ्चालक मदन राईले त्यहाँ अध्ययनरत छात्राहरूलाई निर्वस्त्र भई अश्लिल शब्दहरू प्रयोग गर्ने, मसाज गर्न लगाउने, संवेदनशील अङ्गहरूमा हात हाल्ने र शारीरिक सम्पर्कका लागि दबाब दिने गरेको पाइएको छ ।
राईले ललितपुरस्थित आफ्नै घरमा लगेर समेत किशोरीहरूमाथि दुर्व्यवहार गर्ने गरेको र शारीरिक सम्पर्कपछि रजश्वला भए/नभएको बारेमा पनि सोधपुछ गर्ने गरेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
अध्ययनमा विद्यालय हाताभित्रै होमस्टे, क्याफे सञ्चालन गरेको पाइएको र उक्त क्याफेहरूमा कर्मचारीको रुपमा बालबालिका र किशोरीहरूलाई काम लगाउने गरेको पाइएको पनि जनाइएको छ ।

त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य राईले मदन राई पक्राउ गरेपछि बालबालिकाहरूलाई त्यहाँका गतिविधि नभन्न दबाब र धम्की दिएको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । अध्यक्ष राईमाथि समेत यौन दुर्व्यवहारको आरोप लागेको छ ।
उक्त विद्यालय गैरकानूनी रुपमा सञ्चालन गरिएको ठहर गर्दै पीडित बालबालिकाको तत्काल उद्धार गर्न, आवास गृहमा भएका कानून विपरीतका कार्यलाई अनुसन्धानको दायरामा ल्याउन, विद्यालयमा बाल संरक्षण संयन्त्र निर्माण गर्न आवश्यक रहेको पनि अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।
राईले सञ्चालन गरेको विद्यालयमा अहिले पनि १०१ जना बालबालिका रहेको रेकर्ड पाइए पनि अध्ययन समितिले ९७ जना मात्रै विद्यालयमा रहेको जनाएको छ ।
समितिका अनुसार ४ जना बालबालिका अझै विद्यालयले यौनजन्य कार्यमा लगाएको हुन सक्ने आशङ्का गर्दै सरकारलाई तत्काल खोजी गर्न आग्रह गरेको छ ।
अध्ययन सार्वजनिक गर्दै बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष राजेश शर्माले स्कुलभित्र बालबालिकामाथि भएको यौनजन्य कार्यलाई जातीय र राजनीतिक रङ्ग दिएर मिलाउन खोजिएको आरोप लगाउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्