शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

गोरखा । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) आफ्नो गृह जिल्ला गोरखा आइपुग्नुभएको छ ।
गृहमन्त्री श्रेष्ठ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको साधारण सभाको समुद्घाटन गर्न गोरखा आइपुग्नुभएको हो ।
गृह जिल्ला आइपुग्नुभएका श्रेष्ठले कार्यक्रम शुरु हुनुअघि कार्यकर्ता भेटघाट गर्नुहुँदै शान्तिपूर्ण कार्यदिशाबाट सामाजिक, आर्थिक क्रान्ति आवश्यक रहेको बताउनुभयो ।
उहाँले सरकार, सदन र सडक तिन वटै मोर्चाको सदुपयोग गर्दै सुशासन, समृद्धि र समाजवादमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक न्यायसहितको समृद्धिको लागि सरकारलाई सफल बनाउन कार्यकर्तालाई सहयोग गर्न गृहमन्त्री श्रेष्ठले अपिल गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले जोसुकै भएपनि भ्रष्टाचारीलाई नछाड्ने बताउनुभयो । जुनसुकै पार्टीको होस् जोसुकै होस् भ्रष्टाचारीलाई कारबाही गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले अनुसन्धानका क्रममा आफ्नै पार्टीका कोही नेता कार्यकर्ता दोषी देखिए उनीहरुलाई पनि कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष समेत रहनुभएका उपप्रधानमन्त्री श्रेष्ठले समृद्ध मुलुकको सपना, सामाजिक, आर्थिक रूपान्तरणसहितको समृद्ध नेपालका लागि भ्रष्टाचारको जालो तोड्ने अभियानमा सरकार दृढ रहेको बताउनुभयो ।
उहाँले पार्टीभित्र गुट बनाउनु अपराध भएको उल्लेख गर्नुहुँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सम्पुर्ण नेता कार्यकर्ता एकताबद्ध भएको जिकिर गर्दै श्रेष्ठले भन्नुभयो ः “कोही कसैले गुटबन्दी गरेको छ भने त्यो अपराध हो ।”
उहाँले नेकपा माओवादी केन्द्र बृहत् बाम समाजवादी एकताको पक्षमा रहेको पनि बताउनुभयो । “एउटा शक्तिशाली पार्टी निर्माणको अभियानमा छौँ”, उहाँले भन्नुभयो, छिट्टै एकीकृत, क्रान्तिकारी शक्ति निर्माण गर्छौ ।”








प्रतिक्रिया राख्नुहोस्