तपाईँ सुन्दै हुनुहुन्छः

कृषि क्षेत्रले नै देशको अर्थतन्त्र सुधार गर्न सक्छ : मन्त्री भुसाल

अर्घाखाँची । कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले कृषि क्षेत्रको विकासले नै देशको अर्थतन्त्र सुधार हुने बताउनुभएको छ ।

नेपालको अर्थतन्त्रको ठुलो मेरुदण्ड भनेको कृषि रहेको उल्लेख गर्नुहुँदै मन्त्री भुसालले कृषिबाटै अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घ अर्घाखाँचीले सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले देश यतिबेला आर्थिक सङ्कटबाट गुज्रिरहेको उल्लेख गर्नुहुँदै सरकारले हरेक क्षेत्रका बजेटको कटौती गरिरहेको छ तर अन्य क्षेत्रको बजेटको तुलनामा कृषि क्षेत्रको बजेट कम कटौती हुने बताउनुभयो । 

“नेपाल कृषि प्रधान देश हो, यहाँको अर्थतन्त्र कृषिमा निर्भर छ, अहिले कृषिमा धेरै समस्या छन्, त्यी समस्याको समाधान गर्न आवश्यक छ ।”उहाँले भन्नुभयो, “नेपालमा कृषिका समस्याहरू मध्ये बाँझो जमिन, सिँचाई, बिउ मल हुन्, सरकार अहिले त्यी समस्याको समाधानका उपायहरू खोज्न लागिरहेको छ ।” 

उहाँले नेपाल कृषिप्रधान देश भएपनि हालसम्म कृषि ऐन नहुनु दुःखद रहेको उल्लेख गर्नुहुँदै अहिले मन्त्रालय कृषि ऐन बनाउने कार्यमा लागिरहेको पनि बताउनुभयो ।

अर्घाखाँचीबाट संघीय सरकारमा कृषि जस्तो महत्त्वपूर्ण मन्त्रालयमा मन्त्रीको जिम्मेवारीमा पुग्नुभएकोमा उहाँलाई उत्कृष्ट कार्यकालको शुभकामना र बधाई ज्ञापन गर्दै पत्रकार महासङ्घ अर्घाखाँचीले दोसल्ला र सम्मान पत्रले सम्मान समेत गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button