लोकप्रियताले समाज बन्दैन : एमाले महासचिव पोखरेल
दाङ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले समाज लोकप्रियताले निर्माण हुन नसक्ने बताउनुभएको छ । लोकप्रियताले व्यक्तिलाई उचाइमा पुर्याउन सहयोग पुग्ने भन्दै महासचिव पोखरेलले त्यसले समाजको सही ढंगले नेतृत्व गर्न नसक्ने बताउनुभएको हो ।

पछिल्लो समयमा केही पार्टीको चर्चा बढी हुने गरेको बताउँदै महासचिव पोखरेलले उनीहरूले समाज विकासका लागि भूमिका उल्लेख्य हुन नसक्ने बताउनुभयो ।
नेकपा एमाले दाङ जिल्ला कमिटीले तुलसीपुरमा आयोजना गरेको दङाली कम्युनिष्ट आन्दोलनका अगुवा नेत्रलाल पौडेल अभागीको ४० औँ स्मृति सभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले समाजको विकास र त्यसको परिवर्तनका लागि नीति, विचार र लक्ष्य निर्धारण गरेका शक्तिले मात्रै पूरा गर्न सक्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीले देश निर्माण गर्ने पार्टी नेकपा एमाले भएको बताउनुभयो । करिब दुई बर्षअघि एकीकृत समाजवादीतिर लागेर गल्ती गरिएको भन्दै एमाले पार्टीमा फर्किनुभएका नेता विश्वासीले दुई वर्षपछि घर फर्किएको बताउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीको नेतृत्वमा पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सचिव शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणि बेल्बासेसहित चार सय ३० बढी नेता कार्यकर्ता एमाले फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्