मूर्तिकार पार्की ११ दिनदेखि अचेत अवस्थामा
बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका ८ का जय बहादुर पार्की यस क्षेत्रकै लोकप्रिय काष्ठ कलाकर्मीका रुपमा परिचित हुनुहुन्छ ।
३९ वर्षका पार्कीले दर्जनौँ मन्दिरमा देवीदेवताका मूर्ति, टुँडाल तथा चित्रकला बनाइसक्नुभएको छ । उहाँ काठ, सिमेन्ट र धातुका मूर्ति बनाउने गर्नुहुन्छ ।

तर, पार्की ११ दिनदेखि बिरामी परी अचेत अवस्थामा हुनुहुन्छ । उहाँको सेती प्रादेशिक अस्पताल कैलालीको आइसियुमा उपचार भइरहेको छ । उपचारमा आर्थिक अभाव भएकाले परिवारले सहयोगको अपिल गरिरहेको छ ।
११ दिनदेखि उपचाररत पार्कीलाई औषधी किन्न समस्या भएको उहाँका आफन्त गणेश पार्कीले बताउनुभयो ।
कलाका धनी व्यक्तिलाई उपचारका लागि आर्थिक सङ्कलन अभियान थाल्नुपर्ने पाटन बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख पृतबहादुर विष्ट बताउनुहुन्छ ।
पार्की गाउँ ठाउँकै गहना भएकोले उहाँलाई बचाउन कुनै कसर बाँकी नराख्ने स्थानीय समाजसेवी धर्म विष्टले बताउनुभयो । दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र बहादुर कार्कीले सक्दो सहयोग गरिने बताउनुभयो ।
पार्कीका श्रीमती, २ छोरा र २ छोरी रहेका छन् ।







प्रतिक्रिया राख्नुहोस्