मिटरब्याजीविरुद्ध पर्सामा ६ सय १५ उजुरी दर्ता

बीरगंज । जिल्ला प्रशासन कार्यालय पर्सामा आजसम्म मिटरब्याजीविरुद्ध ६ सय १५ उजुरी दर्ता भएका छन् ।
सरकारले मिटरब्याजीविरुद्ध उजुरी दिन आह्वान गरेसँगै आजसम्म ६ सय १५ जनाले उजुरी दर्ता गराएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रवक्ता एवं सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिनुभयो ।
मिटरब्याजीको गिरोहले सम्पत्ति हड्पेर सर्वसाधारणको उठिबास लगाइरहेको विषय बाहिरिएपछि मिटरब्याजको धन्दा रोक्न र गिरोहविरुद्ध कारबाही अघि बढाउन सरकारले कार्यदल नै गठन गरेको छ । मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेसँगै उजुरी लिने क्रम शुरु भएको छ ।
मिटरब्याजीले गरेका अपराध र शोषणविरुद्ध जिल्लास्थित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिने व्यवस्था मिलाएसँगै अहिले पर्सामा मिटर व्याजी विरुद्ध उजुरी दिन दैनिक ७०÷८० जना सम्म आउने गरेको जिल्ला प्रशासन कार्यालयका मिटर व्याजी तथा ठाडो उजुरी शाखाका प्रमुख गौरीशंकर गुप्ताले जानकारी दिनुभयो ।

उजुरीकर्ताहरूले एउटै निवेदनमा ४÷५ जना सम्मलाई कारवाहीको माग गरेको र पर्सामा लाखौँको अचल सम्पत्ति घर जग्गा देखि नगदमा २० हजारदेखि ८० लाखसम्म मिटर व्याजीसँग पैसा लिएको उजुरी आएको गुप्ताले बताउनुभयो ।
पर्सा विरञ्चीवर्वाका जादोलाल यादवले मिटर व्याजीसँग २०६१ सालमा दुई पटक गरी लिएको रु ४० हजार ऋण ब्याजसहित फिर्ता गरे पनि ऋण लिँदा पारित गर्न लगाएको जग्गा हालसम्म फिर्ता नगरेको गुनासो गर्नुभयो ।
आजसम्म परेका ६ सय १५ मिटर ब्याजी विरुद्धका निवेदनमाथि प्रमाणका आधारमा जिल्ला सरकारी वकिल कार्यालयसँग समन्वय गरी जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो ।

प्राप्त उजुरीका बारेमा गृह मन्त्रालयलाई जानकारी गराइएको जनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्ला प्रहरी कार्यालय र प्रशासन कार्यालयले पनि आफ्नै तरिकाले अध्ययन गरिरहेको बताउनुभयो । पर्सामा एक जना मिटरब्याजीबाट धेरै जना सर्वसाधारण पीडित भएको उजुरी समेत परेका छन् ।
ऋण लिएको पैसा ब्याजसहित तिरिसक्दा पनि जग्गा तथा सम्पत्ति फिर्ता नगरेको एक सय भन्दा बढी उजुरी परेको पौडेलले बताउनुभयो । कतिपयले ऋण दिने नाममा सर्वसाधारणको जग्गा नै आफ्नो नाममा पारेको र पैसा पनि असुलिरहेको पर्सामा भेटिएको छ ।







प्रतिक्रिया राख्नुहोस्