तपाईँ सुन्दै हुनुहुन्छः

सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा छलफल

काठमाडौँ । सङ्घीय संसद्को  प्रतिनिधिसभाअन्तर्गत कानुन न्याय तथा मानव अधिकार समितिको आज सम्पन्न बैठकले आफ्नो आन्तरिक कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य मङ्गलप्रसाद गुप्ताको सभापतित्वमा बसेको बैठकले उक्त कार्यविधि सर्वसम्मत पारित गरेको हो । समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित भएपछि अर्का ज्येष्ठ सदस्य गुप्ताको सभापतित्वमा बैठक बसेको थियो ।

समितिका सबै सदस्यले  बैठकमा प्रस्तुत सम्पत्ति शुद्धीकरण र सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दफावार छलफलका लागि तत्काल अघि बढाउन समितिले पारित गरेर पठाउनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो । सो बमोजिम बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन,  सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन (तेस्रो संशोधन), २०७९ माथि छलफल प्रारम्भ भएको छ ।

यही जेठ २ गते पहिलो पटक बसेको समितिको बैठकमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय र सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको  विधेयक समितिमा आएकाले यसमा  दफावार छलफल गरी निष्कर्षमा पुर्‍याउनुपर्ने जानकारी गराउनुभएको थियो ।

सङ्क्रमणकालीन न्यायका सम्बन्धमा १८६ वटा संशोधन परेको छ । उक्त विषयमा अब समितिमा दफावार छलफल प्रारम्भ भएको हो । समितिको बैठक भोलि ११ बजे पुनः बस्नेछ । दफावार छलफललाई निरन्तरता दिइने आजको बैठकका सभापति गुप्ताले बैठकमा जानकारी गराउनुभयो ।

समितिको बैठकको कार्यविधिमा बिनासूचना निरन्तर पाँचवटा बैठकमा उपस्थित हुन नसके समितिको सदस्यबाट निष्कासन गरिनसक्ने व्यवस्था छ । तर समितिका सदस्यले बैठकमा उपस्थित हुन नसक्नाको लिखित कारण समितिका सभापतिलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button