‘विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम बनाइनेछ’
सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका मुख्य मन्त्री शालिकराम जम्मरकट्टेलले विपद् व्यवस्थापनका लागि प्रभावकारी कार्यक्रम बनाइने बताउनुभएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोकले आयोजना गरेको ‘विपद् व्यवस्थापन’ विषयक कार्यक्रमको मङ्गलवार सुकुटेमा उद्घाटन गर्दै मुख्यमन्त्री जम्मरकट्टेलले मनसुनजन्य पूर्व तयारीका लागि यही जेठ महिनाभित्र स्थानीय तहमा बजेटको व्यवस्थापन गरिने बताउनुभयो ।
विपद् व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिमा पठाइएको बजेट खर्च हुन नसकेर फ्रिज भएको बताउँदै उहाँले कार्यविधि बनाएर स्थानीय तहमा नै विपद् बजेट पठाउने योजना बनेको जानकारी दिनुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेश सदस्य सरल सहयात्री, मसिना खड्का, अमृता नेपाल, माइली तामाङ, स्थानीय तहका प्रमुख एवम् उपप्रमुख लगायतको उपस्थिति रहेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्थानीय तहका जनप्रतिनिधिहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ र खानेपानीमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
नेपाली जनता कृषिमा आश्रित नभएको भए मुलुक चलाउन मुस्किल हुने बताउँदै मुख्यमन्त्री जम्मरकट्टेलले कृषि क्षेत्रमा हालसम्म सरकारले गरेको लगानी खेर गएको धारणा व्यक्त गर्नुभयो । उहाँले काठमाडौं र ललितपुर बाहेक बागमती प्रदेशका बाँकी जिल्लालाई उत्पादनको पकेट जिल्ला घोषणा गर्ने तयारी रहेको पनि जानकारी गराउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै आन्तरिक मामिला तथा कानून मन्त्री गङ्गानारायण श्रेष्ठले विपद् पूर्व तयारीका लागि स्थानीय तहलाई विशेष अधिकारसहितको बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य माधव सापकोटाले मनसुनजन्य विपद् निकट आइसकेको हुँदा सबै चनाखो हुनुपर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्